म्याग्दी स्वास्थ्यको विवादका कारण – हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम प्रभावित
विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २९ गते । जिल्ला स्वास्थ्य कार्यालयको आपसी विवादका कारण म्याग्दीमा हात्तिपाइले रोगको औषधि खुवाउँने कार्यक्रम प्रभावित बनेको छ ।
फागुन ११ गते जिल्ला स्वास्थ्य र जनस्वस्थ्य कार्यालय एकआपसमा अलग अलग भएपछि स्वस्थ्यमा विवाद चर्किएको हो ।
विवादका कारण स्वास्थ्यका कार्यक्रमहरु प्रभावित बनेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल सरकारको मन्त्रिस्तरिय निर्णय अनुसार वर्षौ देखि सँगै रहेका जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालय एकआपसमा छुट्एिका हुन् । कार्यालय छुट्एिपछि दुई कार्यालय विच विवाद हुँदै आएको छ । कार्यालयको विवादका कारण समस्या उत्पन्न हुँदा जनस्वास्थ्यका कार्यक्रमहरु यतिखेर प्रभावित बनेका छन् ।
शनिबार देखि देशभरका ३६ जिल्लामा हात्तिपाइले रोगको उन्मूलनका लागि यो वर्षको औषधि सेवन अभियान सुरु गरिए पनि म्याग्दीमा विवादका कारण अभियान स्थगित हुन पुगेको जनस्वस्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताउनुभयो । जिल्लामा करिव एकलाख जनालाई हात्तिपाइले रोगको औषधि खुवाउँने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
म्याग्दीमा पनि आजैबाट अभियान सुरु गर्नेपर्ने हो तर विवादका कारण हात्तिपाइले रोगको औषधि खुवाउँने कार्यक्रम स्थगित हुन पुगेको छ । अधिकृत चौधरीले भन्नुभयो, ‘विवादका कारण मन्त्रालयले कुनै पनि कार्यक्रम नर्गनु भनेको छ ।’ दुइ कार्यालय अलग अलग भएलगत्तै जनस्वास्थ्यको खाता सञ्चालन रोकिएको छ । खाता सञ्चालन नभएका कारण आर्थिक समस्याले गर्दा जनस्वास्थ्यका अन्य कार्यक्रम समेत प्रभावित हुन पुगेका अधिकृत चौधरीले बताउनुभयो ।
समस्यालाई समाधान गरी खाता सञ्चालन गरेपछि मात्र चैत्रको अन्तिम साता हात्तिपाइलेको औषधि खुवाउँने गरी अहिलेलाई कार्यक्रम स्थगित गरिएको जनस्वास्थ्यले जनाएको छ ।
लेखा अधिकृत र जनस्वस्थ्य अधिकृतको संयुक्तरुपमा खाता सञ्चालन गर्ने नीतिगत व्यवस्था भएपनि स्वास्थ्यका अधिकृत रामप्रसाद शर्माले आफूभन्दा तल्लोतहका कर्मचारी सँग खाता सञ्चालन गर्न मञ्जुर नभएपछि जनस्वास्थ्यका कर्मचारीहरुको तलब भत्ता लगायत अन्य कार्यक्रमहरु समेत रोकिएको जनस्वास्थ्य अधिकृत चौधरीले बताउनुभयो ।
हात्तिपाइले रोगको औषधि खुवाइने कार्यक्रमको लागि यस वर्ष ४५ लाख रुपियाँ बजेट आएको कार्यालयले जनाएको छ । स्वास्थ्यमा हुने कुनैपनि विवादले नागरिकको स्वास्थ्य सँग जोडिएका कार्यक्रमहरु प्रभावित हुनु दुःखद भएको सर्वसाधरणहरु बताउँछन् ।
यसै गरी अभियानअन्तर्गत ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाइँदै छ । नेपालका ६१ जिल्लामा यो रोगको संक्रमण देखिएपछि सन् २००३ बाट औषधि सेवन कार्य सञ्चालन गरिएकामा २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिसकेको छ ।
आजदेखि भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, पाँचथर, सप्तरी, सिरहा, ललितपुर, बाग्लुङ, , पर्वत, लमजुङ, दाङ, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा, र दार्चुलामा आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ ।
अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी तथा ६५ हजार ६७८ स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्करी, छारे रोगी, सिकिस्त बिरामीले खान नहुने बताइएको छ । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्