बजार अनुगमन तत्काल हुन्छ ः प्रजिअ आचार्य
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २८ गते ।
म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिल्लास्थित सबै सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुबीच शुक्रबार सदरमुकाम बेनीमा भेटघाट कार्यक्रमको आयोजना गरी उनले सबैसँग मिलेर काम गर्ने बताएका हुन् ।

पत्रकारहरुले राखेको मागप्रति सम्बोधन गर्दै प्रजिअ आचार्यले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय गरी आफूले काम गर्ने बताएका थिए । उनले सञ्चारमाध्यम, पत्रकार, राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै जनताको कामलाई प्राथमिकता दिएर सेवासुविधा प्रदान गरिने बताए ।
उनले जिल्लामा भित्रिएको पेट्रोलियम पदार्थको सहज वितरण गर्न आफूले पेट्रोल पम्पलाई आवश्यक निर्देशन दिएको बताउँदै त्यसको खपत हुने रेकर्ड समेत राख्न लगाइएको जानकारी दिए । जिल्लाको विकासनिर्माणलगायत समग्र पक्षको समयसमयमा अनुगमन गरिने प्रजिअ आचार्यको भनाई छ ।

भेटघाटको क्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुले अझै पनि पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँसलगायतको सहज आपूर्ति हुन नसकेको हुँदा त्यसका आवश्यक पहल र बजार अनुगमन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले जिल्लामा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन, ग्रामीण क्षेत्रमा प्रहरी इकाई स्थापना गर्न, सरकारी कार्यालयको छड्के अनुगमन र जनतालाई घरदैलोमै सेवासुविधा पु¥याउन शिविर सञ्चालन गर्नुपर्नेलगायतका माग गरेका हुन् ।
जिल्लामा शान्तिसुरक्षा कायम गर्न, विकास निर्माणका कामले तिब्रता पाउने वातावरण बनाउन सम्बन्धित सबै पक्षको आवश्यक भूमिका रहने प्रजिअ आचार्यको भनाई थियो । उनले यसअघि रोल्पा, खोटाङ, भक्तपुर र सिन्धुली जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेको अनुभव पनि सुनाएका थिए ।
गृह मन्त्रालयबाट हालै मात्र म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका प्रजिअ आचार्य, जिल्लामा क्रियाशिल राजनीतिक दल एवं पत्रकारबीच परिचय गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, सचिव गोरखनाथ सुवेदी, संस्थापक अध्यक्ष घनश्याम खड्कालगायतका पत्रकारको सहभागीता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्