रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २८ गते ।
म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएमको आयोजनामा सदरमुकाम बेनीमा शुरु भएको रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । गएको २२ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिएको तालिमको समापन गरिएको हो ।
तालिम समापन समारोहमा बोल्दै जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले पत्रकारिता क्षेत्र ठूलो भएकाले समाज रुपान्तरण र परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले पत्रकारिताको माध्यमबाट समाजमा सत्यतथ्य र सकारात्मक सूचनाहरु प्रवाह गर्नुपर्ने धारणा राखेकी थिइन् ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष सुरत केसीले पत्रकारिता क्षेत्रमा अवसर, चुनौती र सम्भावना रहेकाले यस क्षेत्रमा लाग्नेहरुले सन्तुलित रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा म्याग्दीकाली सञ्चार सहकारी संस्थाका सल्लाहकार एवं प्रशिक्षक सुदर्शनकुमार श्रेष्ठ, रेडियो म्याग्दीका स्टेशन संयोजक गोपाल छन्त्याल, प्रशिक्षक कृष्ण जिसी, म्याग्दीकाली एफएमका सहसम्पादक ध्रुवसागर शर्मा, स्टेशन संयोजक प्रकाश पौडेल, सहभागी प्रमिला बरुवाल, जानकी विश्वकर्मा र शिव विश्वकर्माले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा तालिमका प्रशिक्षकहरुलाई मायाको चिनो र सहभागीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रम म्याग्दीकाली सञ्चार सहकारी संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षता र प्रवन्धक ध्रुवराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्