सिंगा तातोपानीमा बिरामीको चाप बढ्यो
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २६ गते । 
म्याग्दीको बेनी नगरपालीका १३ स्थित तातोपानी कुण्डमा स्नान गरेर रोग उपचार गराउन आउने बिरामीको चाप बढेको छ ।
गत बैशाखको भुकम्प र संबिधान जारी भएसंगैको नाकाबन्दीका कारण सुनसान बनेको तातोपानी कुण्डमा देशको अवस्था सहज बन्न थालेपछि चहलपहल बढेको हो । नाकाबन्दी खुलेसंगै यातायात सेवा र ईन्धन आपूर्ती सहज बनेपछि देशका विभिन्न ठाउँबाट तातोपानीमा आउने बिरामीको चाप बढेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव मिनबहादुर बानियाँले बताउनुभयो ।
उहाँका अनुसार फागुन दोस्रो सातादेखि कुण्डमा बिरामीको चाप बढेको हो । अहिले दैनिक तिन वटा समूह बनाएर स्नान गर्ने ब्यवस्था मिलाइएको छ । साउन महिनायता तातोपानीमा आठ हजार ७०० जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव मिनबहादुर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनामा २४ गतेसम्म एक हजार ७५० जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् ।
गत आर्थिक वर्ष २०७१७२ मा १६ हजार ३०० जनाले तातोपानीमा स्नान गरेका थिए । तातोपानी स्नानका लागि आएका बिरामीहरुलाई खाना पकाउने ग्याँसको समस्या भएको छ । पर्याप्त मात्रामा खाना पकाउने ग्याँस नहुँदा दाउराले काम चलाउनुपरेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।
बिरेनुनको गन्धमा जमिनभित्रबाट निस्कने ५० डिग्री सेल्सीयस तातोपानीलाई संकलन गरि बनाइएको तलाउमा स्नान गरेपछि शारिरीक चोटपटक लागेको, सुन्नीएको, बज्रीएको, छाला र ग्यास्ट्रिक सम्बन्धि समस्या भएका बिरामीले स्वास्थ्य लाभ गर्छन् । दश दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न व्यवस्थापन समितिलाई प्रतिव्यक्ति दुई सय रुपैया शूल्क तिर्नुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्