फेसबुके राजनीति गर्नेलाई एमाले म्याग्दीको अंकुश
विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २४ गते ।
नेकपा एमाले म्याग्दीले सामाजिक सञ्जाल र सञ्चार माध्यममा जथाभावी नकारात्मक अभिव्यक्ती दिनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
एमाले म्याग्दीको शनिबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीका नेता र विभिन्न जनवर्गीय संगठनहरुमा देखिएको असमझदारी तथा एक अर्काप्रति आक्षेप लगाउने किसीमको अभिव्यक्ती सार्वजनीक भएको विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
पार्टी र संगठन भित्रको असमझदारीको विषयमा सम्बन्धित कमिटिमा छलफल गर्ने र सामाजिक सञ्जाल तथा मिडियामा जथाभावी पार्टी, नेतृत्व र संगठनप्रति अभिव्यक्ती नदिने निर्णय भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार सामाजिक सञ्जाल र मिडीयामा पार्टी संगठन र नेताहरुको नकारात्मक टिप्पणी गर्नेलाई बिधान सम्बत कारबाहीको विषय बनाउने कडा निर्णय गरि जनवर्गीय संगठन र पार्टीका संरचनाहरुमा परिपत्र गरिएको छ ।
पछिल्लो समय एमाले निकट युवा, विद्यार्थी संगठन, मदन भण्डारी, पुष्पलाल फाउण्डेशन र पार्टीका नेताहरुबीच उत्पन्न असमझदारीको विषलाई लिएर फेसबुकमा एक अर्काप्रती लक्षित गरेर नकारात्मक अभिव्यक्ती सार्वजनिक भएका थिए । यस्तो कार्यमा एमालेका जिल्ला कमिटिका सदस्यहरु पनि मुछिएका थिए ।
असझदारी हटाउन जिल्ला नेतृत्वले पहल गरेपनि सामाजिक सञ्जालमा सार्वजनिक हुने अभिव्यक्ति नकारात्मक र बिवादास्पद बन्दै गएपछि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । जनवर्गीय संगठन र पार्टीमा देखिएको असमझदारी हटाउन बैकल्पीक केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज भुपेन्द्र थापा, अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी लगायतका पदाधीकारीहरुलाई जिम्मेवारी दिएको छ । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्