महाशिवरात्री पर्वको मेला भर्नेहरुको गलेश्वरमा चहलपहल सुरु
विकल्प न्यूज/बेनी
फागुन २४ गते ।
म्याग्दीको बेनी नगरपालीका ९ स्थित धार्मीक स्थल गलेश्वरमा सोमबार बिहानैदेखि महाशिवरात्री पर्वको अवसरमा भक्तजनहरुको चहलपहल बढेको छ ।
म्याग्दी, पर्वत, बागलुङका विभिन्न ठाउँका साथै चितवन, कास्की, रुपन्देही लगायतका ठाउँबाट आएका भक्तजनहरुको गलेश्वरमा बिहानैदेखि चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
पुजाआजा र मन्दिरको दर्शनलाई व्यवस्थित बनाउन स्वमसेवक परिचालनका लागि सुरक्षा व्यवस्था कडा पारिएको कोषका कार्यालय सचिव योगेन्द्र कार्कीले जानकारी दिनुभयो । कालीगण्डकी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथी अवस्थित गलेश्वरमा साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीका दिन बिशेष मेला लाग्ने गर्छ ।
विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको छ । शिवरात्रीका दिन काठमाडौको पशुपतीनाथका साथै मुलुकभर रहेका शिवालयमा पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।
यसैगरी गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस’ मनाउदैँछ । जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालदेखि भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति राजेन्द्र क्षत्री हुनुहुन्छ ।
पछिल्ला वर्षहरूमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ । ‘सङ्गठनलाई सुम्पिएको जिम्मेवारीअनुरूप देश र जनताको हितका खातिर तथा संयुक्त राष्ट्रसङ्घीय शान्तिस्थापना कार्यमा समेत नेपाली सेना अहोरात्र खटिएर परिणाममुखी योगदान दिँदै आएको छ ।
राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्