झुसीलकिराको प्रकोपले वन सखाप
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २३ गते ।
म्याग्दीको राहुघाट क्षेत्रमा झुसीलकिराको प्रकोप फैलीएको छ । एक महिनादेखि फैलीएको झुसीलकिराका कारण पशु चौपाया र मानिसहरु प्रभावित भएका छन् ।
जंगलमा चरनका लागि गएका भेडाबाख्राले घाससंगै झुसीलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताउनुभयो । उहाँका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटा भन्दा बढी भेडाबाख्रा मरीसकेका छन् ।
घाँससंगै झुसीलकीरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र धाढीएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताउनुभयो । बिशेषगरी उत्तिसका रुखहरु भएको जंगलमा झुसीलकिरा फैलीएको छ । मानिसहरु पनि काउसो बिझ्ने हुँदा जंगलमा घाँस दाउरा गर्न जान सकेका छैनन् ।
चिमखोलाको साथै छिमेकी कुईनेमंगले, दग्नाम र पाखापानी गाविसको जंगलमा पनि झुसीलकिराको प्रकोप फैलीएको छ । झुसीलकिराले स–साना बोटबिरुवाको डाँठ खाएर सखाप बनाएको छ । जंगलैभरी झुसीलकिरा फैलीएको चिमखोलाका गाविस सचिव जितबहादुर सुनारले बताउनुभयो ।
केही ठाउँका बासिन्दाले झुसीलकिराको प्रकोप नियन्त्रण गर्न जंगलमा डडेलो लगाएका छन् । जसले गर्दा वन्यजन्तु, पंक्षीको बासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ । झुसीलकिराको प्रकोपले सो क्षेत्रको संयौ हेक्टर जंगल सखाप पारेको छ ।
म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसीलकिराको प्रकोपका बारेमा आफुलाई जानकारी नभएको र सम्बन्धित ईलाका वन कार्यालयसंग बुझ्ने प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्