सवैको सहयोगमा नमुना नगरपालिका ः कार्यकारी अधिकृत
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २३ गते । हालै मात्र सरुवा भई बेनी नगरपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नुभएका छविलाल सुवेदीले आफ्नो कार्यकालमा नगरपालीकालाई नमुनाका रुपमा अगाडी बढाउने बताउनुभएको छ ।
आइतबार जिल्लामा क्रियाशिल पत्रकारहरुबीच नगरपालिका कार्यालयमा भएको भेटघाटका अवसरमा उहाँले नगर क्षेत्रमा भएका समस्याहरुलाई सवैको छलफल र आपसी सहयोगको माध्यमबाट समाधान गर्ने बताउनुभयो । उहाँले नगरपालिका नयाँ भएकाले यहाँको विकासमा सवैको सहयोग र रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो ।
हालै मात्र स्थानीय विकास मन्त्रालयबाट सरुवा भएर सुवेदी बेनपामा आउनुभएको हो ।
पत्रकारहरु सँग परिचयात्मक कार्यक्रमसहित आयोजना गरिएको भेटघाटका क्रममा पत्रकारहरुले नगरपालिकाले बेनीबजारको फोहोर व्यवस्थापन गर्न जोड दिएका छन् । उनीहरुले नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय स्थलहरु रहेको भन्दै पवित्र कालीगण्डकी नदीको किनारमा फ्याँकिने फोहोरको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
साथै पत्रकारहरुले बेनीबजारमा सोलारमार्फत सडक बत्ती जडान, स्थानीय सञ्चारमाध्यमहरुको स्तरोन्नति गर्न बेनपाबाट आवश्यक सहयोग गर्नुपर्ने, नगरपालिकालाई सफा र स्वच्छ नगरपालिका बनाउनुपर्ने र बजारमा दैनिक निस्कने फोहोरको उचित व्यवस्थापन गर्न कुहिने र नकुहिने बस्तु छुट्याउने व्यवस्था ल्याउनुपर्नेलगायतका विषयमा कुरा उठाएका थिए ।
पत्रकारले उठाएको विषयमा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत सुवेदीले आफ्नो नयाँ क्षेत्र भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बेनीबजारको फोहोर व्यवस्थापनका लागि सरोकारवालाहरुसँग आवश्यक छलफल गरी उचित ठाउँको खोजी गरिने बताउनुभयो ।
कार्यकारी अधिकृत सुवेदीले प्रत्येक हप्ताको १ दिन नगरपालिकामार्फत भएका विकासे योजनाको आफूले अनुगमन गर्ने तयारी गरेको जानकारी समेत दिनुभयो । उहाँले जिल्लामा शान्तिसुरक्षाको व्यवस्था कायम नभए विकास निर्माणले प्राथमिकता नपाउने बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । साथै नगरपालिकाको आन्तरिक राजश्व अत्यन्तै कम रहेकाले विकास निर्माणमा असर पुगेको बताउनुभयो । उहाँले आगमी आवमा नगपालिकाको आन्तरिक स्रोतलाई समुचित रुपमा व्यवस्थापन गरी उपयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्