विभिन्न संघ संस्थाद्धारा म्याग्दीका प्रजिअ पाठकको बिदाई
प्रताप बानियाँ /विकल्प
म्याग्दी, फागुन २२ गते ।
म्याग्दीबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको शनिबार सदरमुकाम बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरी विदाई एवम् सम्मान गरिएको छ ।
निजी क्षेत्रको छाता सङ्गठनको रुपमा रहेको म्याग्दी उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी प्रजिअ पाठकलाई बिदाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा प्रजिअ पाठकलाई उद्योग वाणिज्य संघका अध्यक्ष जीवनकुमार विश्वकर्माले प्रशंसापत्र, निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले करुवा र भूपू अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले दोसल्ला ओढाएर बिदाई गरेका थिए । बिदाई ग्रहणपछि बोल्दै प्रजिअ पाठकले झण्डै आफ्नो ९ महिने म्याग्दी बसाइका क्रममा जिल्लामा शान्तिसुरक्षा कायम राख्न सबैको सहयोग मिलेको बताए । उनले भारतीय नाकाबन्दी र तराई–मधेशको आन्दोलनले इन्धन र ग्याँसको आपूर्ति सहज नभएको अवस्थामा उद्योग वाणिज्य संघ र प्रशासनबीच समन्वय गरी काम गरिएको स्मरण गरेका थिए ।

प्रजिअ पाठकले अहिले पनि बजारमा ग्याँस अभाव कायमै रहेकाले उद्योग वाणिज्य संघले आवश्यक पहल गर्नुपर्ने बताउँदै कोरल्ला नाका खोल्नका लागि समेत पहल गर्नुपर्नेमा जोड दिएका छन् । भौगोलिक विकटता रहेको म्याग्दी जिल्ला मानव विकास सुचकाङ्कको हिसाबले अगाडि रहेपनि भौतिक पूर्वाधार विकास नभएको हुँदा विकास निर्माणलाई प्राथमिकता दिन सबै सरोकारवाला पक्ष लाग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ तथा उद्योगी व्यापारी र प्रशासनबीच आपसी तालमेल गरेर ग्याँस तथा इन्धनको सहज आपूर्ति गरिएको बताएका थिए । प्रजिअ पाठकले आफ्नो कार्यकालमा सन्तुलित कार्यसम्पादन गरेको उद्योगी व्यापारीको भनाई छ ।
प्रजिअ पाठकको शुक्रबार मात्रै तराईको सर्लाही जिल्लामा सरुवा भएको थियो । कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षता र स्वागत, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यको समापन र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसै गरी दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले पनि प्रजिअ पाठकको एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको छ । संस्थाको आफ्नै कार्यालयमा शुक्रबार कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्