तस्विर सहितको मतदाता नामावली अद्यावधिक गर्न अभियान सञ्चालन गरिने
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १९ गते ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीले तस्विर सहितको मतदाना नामावली संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
नयाँ थपिएका मतदाताको नामावली संकलन गर्ने, मृत्यु भएका र बसाईसराई गरेकाको अद्यावधिक गर्ने, त्रुटी संसोधन र छुटेकालाई समेट्ने गाउँ केन्द्रित अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।
बेनीमा बुधबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा फागुन २१ गते दरवाङबाट सुरु हुने एक महिने अभियान मल्कवाङ, मुदी, लुलाङ, ताकम, देविस्थान, रुम, निस्कोट, अर्मन, बाबियाचौर, भकिम्ली र दाना गाविसमा सञ्चालन हुने जानकारी गराइएको थियो ।

गाविस सचिव र सामाजिक परिचालकहरुसंग सहकार्य गरेर तस्विर सहितको मतदाता नामावली संकलन गर्न प्राबिधिकहरु गाउँ गाउँमा खटिने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।
म्याग्दीमा २०७२ पौष मसान्तसम्म ३६ हजार ६६६ पुरुष र २९ हजार ७३७ जना महिला गरि ६६ हजार ४०४ जनाले तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् ।
निर्वाचन अधिकारी पौडेलको अध्यक्षता, नायव सुब्बा बलबहादुर खत्रीको सञ्चालन र लेखापाल बिमलप्रसाद गौतमको स्वागतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक सहित कार्यालय प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो ।
प्रतिक्रिया राख्नुहोस्