क्रान्तिकारी पत्रकारको प्रदेश समितिमा धौलागिरीका पाँच जना निर्वाचित
विकल्प न्यूज/बेनी
फागुन १७ गते ।
क्रान्तिकारी पत्रकार संघले नयाँ संबिधान अनुसारको प्रादेशीक सांगठनीक संरचना गठन गरेको छ ।
साविकको धौलागिरी, गण्डकी र लुम्बीनी अञ्चलमा पर्ने नवलपरासीको पुर्वीभाग समेटिएको प्रदेश नम्बर ४ का प्रतिनिधिहरुको आईतबार पोखरामा सम्पन्न भेलाले त्रिभुवन पौडेलको संयोजकत्व प्रदेश समिति गठन गरेको छ ।
२७ सदस्यीय प्रदेश सम्मेलन आयोजक समितिको सदस्यहरुमा बागलुङका कोपीला कडेल, म्याग्दीका सन्तोष गौतम, कमल खत्री, पर्वतका मुरारी शर्मा र मुस्ताङका चन्द्रश्वर बस्ताकोटी रहनुभएको छ । भेलाले न्युनतम पारिश्रमीक निर्धारण समितिले तोकेको पारिश्रमीक बिनासर्त समयमै उपलब्ध गराउनुपर्ने, चार नम्बर प्रदेशमा सम्भावनायुक्त देखिएको पर्यटन उद्योग प्रर्वद्धनका लागि राज्यले सूचना तथा सञ्चार क्षेत्रको परिचालन गर्नुपर्ने, पत्रकारको पेशागत हकहित क्षमत्ता, दक्षता, गुणस्तरीयता लगायतका विषय समेटिएको ७ बुदे समसामयीक प्रस्ताव पारित गरेको छ । 
संचारमाध्यम र सञ्चारकर्मीको बृत्ति विकास, अध्ययन अनुसन्धानका लागि प्रादेशिक स्तरमा प्राज्ञिक सञ्चार प्रतिष्ठानको स्थापनाका लागि भेलाले नेपाल सरकारसँग माग गरेको छ । प्रस्तावमा समानुपातिक विज्ञापन नीतिलाई तुरुन्त कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
भेलाको उद्घाटन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले संविधान कार्यान्वयनको एजेण्डा प्रमुख विषय भएको बताउनुभयो । एकिकृत नेकपा माओवादीका नेता समेत रहेका मन्त्री बस्नेतले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक अधिकारलाई स्थापित गर्न संचारमाध्यमको मुख्य भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।
४ नम्बर प्रदेश अन्तरगतका ११ वटा जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले सदस्यता विस्तार, संगठन सुदृढीकरण, पत्रकारको क्षमत्ता विकास र सञ्चार माध्यमको सवलीकरणका लागि विभिन्न गतिबिधि गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्