कार्यक्षेत्र र फाँटमा बसेर काम गर्न वन अधिकृतको निर्देशन
सन्तोष गौतम/विकल्प
म्याग्दी १४ फागुन ।
जिल्ला वन कार्यालय म्याग्दीले मातहतका कर्मचारीहरुलाई खटाइएको कार्यक्षेत्रमा खटिन र फाँटमा रहेर काम गर्न निर्देशन दिएको छ ।
जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले कार्यालय मातहतका फाँट र ईलाका वन कार्यालयका प्रमुखहरुलाई बिहीबार पत्र मार्फत निर्देशन सहितको परिपत्र जारी गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय वन निर्देशनालय पोखरालाई बोधार्थ पठाइएको परिपत्रमा खटाईएको कार्यक्षेत्र र फाँटमा नियमित रुपमा उपस्थित भै आफू मातहतका कर्मचारीहरुलाई समुचित परिचालन गर्न निर्देशन दिएको उल्लेख छ ।
केही समययता कर्मचारीहरु कार्यक्षेत्रबाट काज र बिदामा जाने क्रम बढेपछि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाहमा असजता सिर्जना भएको भन्दै वन अधिकृत जयसवालले कार्यालयको चार वटा फाँट र ८ वटा ईलाका वन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
बिदा र काजमा जानुपुर्व सेवा प्रवाहमा असर नपर्नेगरी कार्यालय प्रमुखलाई जानकारी गराई पुर्व स्वीकृती, सहमती लिएर मात्र जान पनि निर्देशन दिएको वन अधिकृत जयसवालले बताउनुभयो । कार्य सम्पादन र सेवा प्रवाहको आधारमा वार्षिक अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै उहाँले मातहतका कर्मचारीहरुलाई सचेत बनाउनुभएको छ ।
गत आईतबार कार्यालय प्रमुख जयसवाल पनि जिल्ला बाहिर गएको र कार्यालयमा जिम्मेवार कर्मचारी नहुँदा सेवा प्रवाह ठप्प बनेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएलगत्तै वन कार्यालयले मातहतका ईलाका वन कार्यालय र शाखाहरुलाई निर्देशन जारी गरेको हो ।
साथै वन अधिकृत जयसवालले प्रजिअलाई मौखिक जानकारी गराएर आपूm क्षेत्रीय वन तालीम केन्द्रको तालीममा सहभागि हुन गत आईतबार पोखरा गएको र क्षेत्रीय प्रशासकले तालीममा सहभागि नभएका कास्कीका वन अधिकृतबाट लिएको सूचनाको आधारमा आफ्नो विषयमा गलत सन्देश प्रवाह भएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्