अपडेटः जहाज दुर्घटनामा परेका १९ जनाको शव भेटियो
प्रताप बानियाँ / विकल्प न्यूज
म्याग्दी,फागुन १२ गते ।
उत्तरी म्याग्दीको दाना गाविसको सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ । आज बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज दाना गाविसको सोलीघोप्टेको धुरीनजिकै केगरबुटा भिरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
भिरमा ठोक्किएर दुर्घटनाग्रस्त जहाज पूर्णरुपमा जलेको छ । अहिलेसम्म १९ जनाको शव फेला परेको घटनास्थल पुगेका म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्र सिगुरुले बताउनुभयो । प्रहरी, नेपाली सेना र स्थानीयवासीले घटनास्थल पुगेर छरिएर रहेका शवहरु सङ्कलन गरेका थिए । भेटिएको शवमध्ये ५ जनाको मात्रै चिन्न सक्ने र अन्य चिन्न नसकिने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा परेको विमानको अधिकांश भाग डढेको छ भने केही भाग क्षतविक्षत रुपमा भिरमा अड्किएर रहेको बताइएको छ ।
जहाज भिरको खोचमा दुर्घटनामा परेको हुँदा त्यहाँबाट तल पनि ठूलो भिर रहेकाले केही शवहरु भिरबाट खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनेटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीनजना सदस्य सवार थिए । दुर्घटनास्थल निकै अग्लो स्थानमा भएको र बाक्लो हुस्सु लागेको कारणले गर्दा उद्धारको कामले साथर्कता पाउन सकिरहेको छैन ।
दाना प्रहरीचौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले सम्पर्कविहिन भएको झण्डै ५ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा जहाजलाई फेला पारेका थिए । दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ गैरहेको छ । दानाबाट दुर्घटनास्थलमा पुग्न पैदलबाट झण्डै ५ घण्टाको समय लाग्छ ।

प्रतिक्रिया राख्नुहोस्