एकिकृत योजना तर्जुमा वैठक – आगामी आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमको छलफल
सन्तोष गौतम /विकल्प
म्याग्दी ११ फागुन ।
आगामी आर्थिक वर्ष २०७३७४ मा म्याग्दीमा सञ्चालन हुने विकास योजना तथा कार्यक्रमहरुको विषयमा मंगलबार बेनीमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
जिल्ला विकास समितिको आयोजनामा भएको एकिकृत योजना तर्जुमा समितिको बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुहुने सांसद नवराज शर्मा, रेशम बानिया, राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्था र गाविस सचिवहरुबीच छलफल भएको हो । 
बैठकमा विषयगत समितिले प्राथमिकीकरण र सिफारीस गरेका गाउँ तथा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठिबाट माग भई आएका योजनाहरुको विषयमा छलफल भएको थियो । बैठकमा आगामी आर्थिक वर्षका लागि विभिन्न विषयगत कार्यालयसंग सम्बन्धित एक हजार १३९ वटा योजनाहरु माग भएको जानकारी गराइएको थियो ।
यस वर्ष ७३ करोड ८२ लाख ३५ हजार रुपैयाँ संसोधीत बजेट प्राप्त भएको म्याग्दी जिल्लामा आगामी वर्षका लागि चालुतर्फ ६३ करोड २७ लाख १४ हजार र योजना तथा कार्यक्रमहरुका लागि एक अर्ब २० करोड ९० लाख १४ हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम माग भएका छन् ।
बैठकले पारित गरेका योजना तथा कार्यक्रमहरुका लागि जिल्ला परिषद् बैठक मार्फत राष्ट्रिय योजना आयोज हुदै विषयगत मन्त्रालयहरुमा बजेट प्रस्ताव गर्ने प्रक्रिया रहेको स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताउनुभयो । २३ वटा सरकारी कार्यालयहरुले एक अर्ब ५९ करोड ३५ लाख ३३ हजार र २४ वटा गैरसरकारी संस्था तथा परियोजनाहरुले २६ करोड २१ लाख १५० प्रस्ताव गरेका छन् ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षता र शाषन विज्ञ सन्तोष पन्थिले सञ्चालन गर्नुभएको कार्यक्रममा सामाजिक विकास समितिको तर्फबाट जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, आर्थिक विकास समितिको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, पुर्वाधार समितिको ईञ्जिनियर ओमबहादुर केसी र वन तथा वातावरण समितिको वन अधिकृत सुखलालप्रसाद जयसवालले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्