नारच्याङमा भिषण सुख्खा पहिरो – हराएका पाँचजना सम्पर्कमा आए
बेनी समाचारदाता/ठाकुरप्रसाद आचार्य
बेनी(म्याग्दी) फागुन ११ गते । म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण हिमालको वेशक्याम्पमा भिषण सुख्खा पहिरोका कारण हराएको भनिएका गाउँलेहरु आफन्तको सम्पर्कमा आएका छन् ।
सोमबार राती १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्कीएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजिवन प्रभावित बनेको नारच्याङ लेक गाउँका स्थानीयवासी टेक पुनले बताउनुभयो ।
जंगलमा निगालो काट्न गएका ५ जना गाउँलेहरु दिउसो ३ बजे आफन्तको सम्पर्कमा आएको पुनले बताउनुभयो । सम्पर्क विहिन भएकाहरुको खोजीका लागि गाउँबाट १५ जनाको टोली खटिएको थियो ।

पहिरो गएको ठाउँ वरपर धुलोले हिडडुल गर्न समस्या भएको छ । पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा सम्बन्धित ठाउँमा पुग्न नसकेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । नारच्याङ ५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी आफन्तको सम्पर्कमा आएको प्रनाउ खड्काले बताउनुभयो ।
स्थानीयका अनुसार उनीहरु निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जंगलमा गएका थिए । टेलिफोन सम्र्पक नहुने, खोँच र धुलोका कारण आफन्तको सम्पर्कमा आउन कठिन भएको नारच्याङ ६ का हुकुम पुनले बताउनुभयो ।
सिमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङ स्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिडेको टोली निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको बाँधमा पुगेर रोकीएको छ । रातीदेखि निरन्तर पहिरो गैरहेको र धुलोले छिमेकको घर पनि देख्न नसकिने अवस्था रहेको नारच्याङ स्थित प्रभा माविका प्रअ तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घलेम्दी जलविद्युत आयोजनाका कामदारहरु रातीनै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् । प्रअ गुरुङका अनुसार उक्त स्थानमा करिब ४० वर्ष पहिले गएको पहिरोमा संयौ भेडाबाख्रा र गोठालाहरु पुरीएका थिए । हिमालको फेदीमा रहेको घटनास्थलमा मानव वस्ती छैन् । पहिरो गएको ठाउँ घलेम्दी खोलाको मुहानमा पर्छ । भूकम्पले चर्किएको पहाड यतिखेर भत्किएको हुनसक्ने आशंका गरिएको छ । तस्विरहरु सुनवहादुर विक


प्रतिक्रिया राख्नुहोस्