म्याग्दी काँग्रेसको निर्वाचन सुरु – २३ पदका लागि ५८ उमेद्वार मैदानमा
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १० गते ।
नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । पार्टी सभापती शुसील कोईरालाको निधनपछि स्थगित भएको छैठौँ जिल्ला अधिवेसनको निर्वाचन प्रकृया आज पुनः सुरु गरिएको हो ।
आगामी चार वर्षे कार्यकालका लागि चयन हुने सभापति पदका लागि खम्बीर गर्बुजा र नेत्रबहादुर महत चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठ र अजयमिलन श्रेष्ठ तथा कोषाध्यक्षमा टंक हमाल र अमृतकुमार श्रेष्ठ उमेद्वार बन्नुभएको छ ।

१२ जना महाधिवेसन प्रतिनिधिमा महिलातर्फ दुई जनाको पदमा ६ जना, जनजातीतर्फ एक जनाको पदमा २ जना, अल्पसंख्यक तर्फ १ जनाको पदमा ४ जना, दलित तर्फ एक जनाको पदमा ३ जना र खुलातर्फ ६ जनाको पदमा १९ जना गरि कुल ३४ जनाविचमा प्रतिस्पर्धा भईरहेको छ ।
त्यस्तै जिल्ला कार्य समितितर्फ चार जना खुला सदस्य पदमा १२ जनाविच प्रतिस्पर्धा भएको छ । एक जना अल्पसंख्यक जिल्ला सदस्यमा दुई जना र दलित तर्फ १ जनामा तिन जनाबिच प्रतिस्पर्धा भएको अधिवेसन निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनको लागि जिल्लामा रहेका कुल ४ सय ५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् । विहान ९ बजेदेखि सूरु भएको मतदान दिउँसो २ बजेसम्म जारी रहने र मतदान सम्पन्न भएको एक घण्टा पछि नै मतगणना सुरु गरिने जिल्ला सभापति एवं सांसद रेशमबहादुर बानियाले जानकारी दिनुभयो ।
बेनी स्थित जिल्ला विकास समितिको सभाहलमा नयाँ नेतृत्वको लागि मतदान भईरहेको छ भने हल बाहिर सहिद स्मृती चोकमा नेता तथा कार्यकर्ताहरु आफ्नो उम्मेदवारलाई जिताउनको लागि प्रचार प्रसारमा जुटेका छन् । अहिले सम्म तिनसय जनाले मतदान गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्