म्याग्दी अस्पतालमा जानुहोस – पाठेघर खस्ने रोगको निशूल्क शल्यक्रिया शिवीर सुरु
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन ९ गते ।
जिल्ला अस्पताल बेनीमा आईतबारदेखि पाठेघर खस्ने रोगको निशूल्क शल्यक्रिया शिवीर सुरु भएको छ ।
बेनीमा रहेका लायन्स कल्व, जिविस, नगरपालीका लगायत स्थानीय निकाय र संघ संस्थाहरुको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले शिवीरको आयोजना गरेका हुन् ।
फागुन १४ गतेसम्म सञ्चालन हुने शिवीरमा पाठेघर तथा प्रजनन् सम्बन्धि समस्या भएका महिलाहरुको स्वास्थ्य परिक्षण, निशूल्क अप्रेशन, औषधि वितरण र परामर्श सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेले जानकारी दिनुभयो ।
क्षेत्रीय स्वास्थ्य निर्देशक ताराकान्त पौडेलले उद्घाटन गर्नुभएको शिवीरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ राजेश अधिकारी, जिल्ला अस्पतालका चिकित्सक धिरेन्द्र मल्ल लगायतका चिकित्सहरुको टोलीले सेवा दिने जनाइएको छ ।
शिवीर लगत्तै जिल्ला अस्पतालबाटै पाठेघर खस्ने समस्याको अप्रेशन सेवा पनि सुरु गर्ने तयारी भएको बरिष्ठ चिकित्सक न्यौपानेले बताउनुभयो । पहिलो दिनसम्म करिब चार सय जनाले शिवीरका लागि नाम दर्ता गराएका छन् । दश जनाको शल्यक्रिया भएको छ ।
शिवीरबाट म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङ जिल्लाका महिलाहरु पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । म्याग्दीका महिलाहरुमा पाठेघर खस्ने रोग लुकेर रहेको
स्वास्थ्य समस्याको रुपमा पाइएकाले जिल्लामै सर्भसुलभ रुपमा सेवा प्रदान गर्न शिवीर गरिएको निर्देशक पौडेलले बताउनुभयो ।
यसअघि पुलाचौर, पाखापानी र दरवाङमा भएको शिवीरमा पहिचान भएका अप्रेशन गर्नुपर्ने बिरामीलाई पनि बेनीमा बोलाइएको छ ।


प्रतिक्रिया राख्नुहोस्