यसरी पढाइन्छ विद्यार्थीहरुलाई हिस्तान टिकोट माविमा (फोटोसहित)
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ९ गते ।
विद्यार्थीमा सिकाई उपलब्धि बढाउन म्याग्दीको एक वटा स्रोत केन्द्रका सबै सामुदायीक विद्यालयले कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रर्दशनी गर्ने बिधि अपनाएका छन् ।

आदर्श मावि रिमा स्रोत केन्द्र अन्तरगत पर्ने हिस्तान र राम्चे गाविसमा रहेका दश वटा विद्यालयले विद्यार्थीमा पढाईप्रति रुची र सिकाई उपलब्धि बढाउन शैक्षिक सामाग्रीको प्रर्दशनी गरेर पठनपाठन गराएका हुन् ।
ति विद्यालयको निमावी तहसम्मको सबै कक्षा कोठाका भित्ता, झ्याल देखि बिच भागमा रसी तानेर कागजमा विभिन्न विषयसंग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्यहरु लेखेर झुण्डाइएको छ । शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्र्दभ अनुसारका सहयोगी शैक्षिक सामाग्री तयार गरेर प्रर्दशन गर्ने गरेको टिकोट मावि हिस्तानका शिक्षक गोविन्द गर्बुजाले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थीले नबुझेको र बिर्सीएको कुनै विषयमा कक्षा कोठामा प्रर्दशन गरिएको सामाग्रीबाटै सिक्ने अवसर पाएका छन् । भाषिक सिप विकास, ज्ञान र पढाईप्रति रुची बढाउन शैक्षिक सामाग्री उपयोगी भएको छ ।
शिक्षण सामाग्री प्रर्दशनी र प्रयोगपछि विद्यार्थीको सिकाईमा सुधार आएको शिक्षक गर्बुजाले बताउनुभयो । एक सय जना विद्यार्थी अध्ययनरत टिकोट माविमा दुई वर्षअघिदेखि यस्तो बिधि अपनाइदै आएको छ ।
शैक्षिक सामाग्रीको निर्माण र प्रयोगका सम्बन्धमा रिड संस्था र शैक्षिक तालीम केन्द्रले शिक्षकहरुलाई तालीम प्रदान गरेको थियो । सुरुमा परिक्षणका रुपमा टिकोट माविमा प्रयोगमा ल्याइएको यस्तो बिधि प्रभावकारी बनेपछि स्रोत केन्द्रका सबै विद्यालयमा लागु गरिएको आदर्श मावि रिमाका स्रोत व्यक्ति भरत पुनले बताउनुभयो ।
उहाँका अनुसार परम्परागत शिक्षण बिधिको तुलनामा शैक्षिक सामाग्रीको प्रर्दशनी बिधि सिकाई उपलब्धि सुधारका लागि प्रभावकारी देखिएको शिक्षकहरुको भनाई छ । यहाँको शैक्षिक विधि देखेर सदरमुकामका निजि विद्यालयहरु पनि शैक्षिक भ्रमणमा आउने गरेको पुनले बताउनुभयो । तस्विरहरु ठाकुरप्रसाद आचार्य




प्रतिक्रिया राख्नुहोस्