म्याग्दीमा खोपसेवामार्फत सरसफाई प्र्रर्वद्धन कार्यक्रम सुरु
सन्तोष गौतम/विकल्प
म्याग्दी, फागुन ९ गते ।
फोहोरका कारणले हुने बालमृत्युदर घटाउन स्वास्थ्य मन्त्रालयले आईतबार म्याग्दीबाट नियमित खोप सेवा मार्फत सरसफाई प्रर्वद्धन कार्यक्रम सुरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले बेनीमा आयोजना गरेको एक कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक ताराकान्त पौडेल र मन्त्रालयका उपसचिव लिलाराज पौडेलले अभियानको सुरुवात गर्नुभएको हो । मन्त्रालयले यस वर्षदेखि अन्तराष्ट्रिय दातृ संस्था वाटर एडको सहयोगमा म्याग्दी सहित जाजरकोट, नवलपरासी र बर्दीया जिल्लामा नमुना योजनाको रुपमा कार्यक्रम सञ्चालन गरेको निर्देशक पौडेलले बताउनुभयो ।
कार्यक्रम मार्फत पाँच वर्ष मुनीका बालबालिकाको अभिभावकलाई लक्षित गरेर सरसफाई प्रर्वद्धनात्मक गतिबिधि सञ्चालन गरिने भएको छ । निर्देशक पौडेलका अनुसार खोप सेवाको दिगोपना र पूर्ण सरसफाई अभियानलाई सफल बनाई फोहोरका कारण हुने बालमृत्युदर घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
स्वास्थ्य संस्थामा बालबालीकालाई खोप लगाउन आउने अभिभावकहरुलाई स्वास्थ्यकर्मीहरुले खेल र नाटक मार्फत सरसफाई सम्बन्धि सन्देश प्रवाह गराउने योजना बनाइएको छ । सरसफाईको कमीले बालबालीकालाई झाडापखला, टाईफाईड, जुका जस्ता स्वास्थ्य समस्या आउन नदिन अभिभावकहरुलाई सचेत बनाइने जनाइएको छ ।
सरसफाईको कमी बाल मृत्युदरको दोस्रो कारणको रुपमा रहेको छ । सरसफाईमा अभिभावक सचेत बन्न सकेमा फोहोर जन्य रोग र बालमृत्युदर घटाउन सकिने चिकित्सकहरुले बताएका छन् । कार्यक्रम अन्तरगत महिला स्वास्थ्य स्वमसेवीकाहरुले ६ महिनाको उमेर सम्म बच्चालाई स्तनपान मात्र गराउन, राम्ररी पकाएको तथा सुरक्षित खाना खुवाउने र सावुन पानीले मिचिमीची हात धुदाँ स्वास्थ्यमा हुने फाईदाको विषयमा जानकारी गराउनेछन् ।
यसैगरी दूध र पानी उमालेको मात्र खुवाउने तथा सधै सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमै फाल्न लगाउने विषयलाई पनि कार्यक्रमले जोड दिएको छ । उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले कार्यक्रमले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने अपेक्षा व्यक्त गर्दै स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने ब्यवहारमा सुधार गर्नुपर्ने बताउनुभयो ।
स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको अध्यक्षता, जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेको स्वागत र खोप अधिकृत गंगाधर पण्डीतको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाटरएडका परियोजना संयोजक खगेन्द्र भण्डारीले कार्यक्रम र जिल्ला जनस्वास्थ्य अधिकृत नारायण चौधरीले निर्देशीकाको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्