बेनी–पाखापानी सडक आयोजना- सकिनुपर्ने समयमा काम सुरु
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ९ गते ।
म्याग्दीको बहुप्रतिक्षीत र सबैभन्दा ठूलो बजेट राशीको बेनी–पाखापानी सडक आयोजना ढिलासुस्तीको शिकार बनेको छ । दातृ निकाय, ठेकेदार, आयोजना कार्यालय, सम्बन्धित अधिकारीको ढिलासुस्ती र समुदायको बिवादका कारण सडक स्तरवृद्धीको काम प्रभावित भएको हो ।
सन २०१६ सम्ममा सम्पन्न गर्ने लक्ष्य सहित वि.स २०१३ देखि सुरु भएको बेनी – पाखापानी सडकको कामले अन्तिम अवस्थामा तिब्रता पाएको छ । ठेक्का प्रक्रियामा ढिलासुस्ती, जग्गा प्राप्तीमा स्थानीयको असहयोग र ठेकेदारको लापरबाहीका कारण अपेक्षाकृत प्रगति भएको छैन् ।
जिविस अन्तरगतको विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत सञ्चालित आयोजनाको काम गर्न भन्दा प्रक्रिया पुरा गराउन र बिवाद मिलाउन धेरै समय लागेको हो । यो सडक आयोजनालाई एशियाली विकास बैंकले १२ करोड रुपैयाँ ऋण सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
ढिलाईका कारण परिणाम
٠ कर्मचारी र दातृ निकायको ढिलासुस्ती ٠ बजेट खर्च हुन सकेन्
٠ ठेकेदारको लापरबाही ٠ उपभोक्तालाई सास्ती
٠समुदायको असहयोग ٠गुणस्तरमा असर
समयमै काम हुन नसक्दा दाताले प्रतिवद्धता जनाएको बजेट खर्च हुन नसकेको मात्र होईन सहयोगनै फिर्ता हुने सम्भावना पनि छ । आयोजनाका लागि प्राप्त भएको बजेट समयमै परिचालन हुन नसक्ने र अर्कोतर्फ बजेट सक्न हतारमा काम गर्दा गुणस्तरमा खेलवाद हुने उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् ।
‘पहिले बेनी–देउराली खण्डमा ड्रिलीप परियोजनाको काम तिन दिन पनि टिकेन’ अर्थुङ्गेका ज्ञानेन्द्र सुवेदीले भने ‘कर्मचारी र ठेकेदार मिलेर अहिले पनि बजेट सक्ने तर गुणस्तीय काम नगर्ने हुन कि भन्ने शंका र चिन्ता छ ।’
वि.स २०६८ सालको असारमा बेनी–देउराली खण्डमा करिब तिन करोड लगानीमा भएको सडक स्तरवृद्धीको काम असफल भएको थियो । आर्थिक वर्षको अन्तिममा भएको काम सकिएको तिन दिनमा बाढीले नष्ट गरेर सडकको अवस्था पुरानै स्वरुपमा फर्कीदा उपभोक्ताले सुबिधाको साटो सास्ती पाइरहेका छन् ।
बेनी–देउराली खण्डमा वि.स २०७१ कात्तिकदेखि सुरु भएको काम एक महिनामै जग्गा बिवादका कारण रोकीएको थियो । पछिल्लो समय सरकारलाई प्राप्त र सरकारी जग्गामा काम गर्न ठेकेदारलाई बाटो खुलेपनि इन्धन अभाव, भुकम्प, नाकाबन्दी लगायतका कारणले गति लिन सकेको छैन् ।
बेनी देखि अर्थुङ्गे देउराली सम्मको तिन किलोमिटर १८० मिटर दुरीको सडकको स्तरवृद्धीका लागि दुई करोड ४८ लाख रुपियाँको लागतमा शिवशक्ति नाना जेभी काठमाडौले ठेक्का पाएको थियो । २०७१ कात्तिकदेखि सुरु भएको सडक प्रभावित क्षेत्रमा पर्ने केही जग्गा धनीले दाता एडिबीको कार्यालयमा उजुरी गरेपछि रोकीएको कामले अहिलेसम्म गति लिएको छैन् । २०७१ फागुनमा सम्पन्न गर्ने सम्झौता भएपनि म्याद थप भैरहेको छ ।
बिवादीतलाई छाडेर जग्गा प्राप्त भएको र सरकारी जग्गामा काम गर्न एडिबीले दिएको सहमति अनुसार जिल्ला सडक समन्वय समितिले ठेकेदारलाई निर्देशन दिएको थियो । ‘बेनी–देउराली खण्डको काममा ठेकेदारले दुई पटक धोका दिए’ जामुनाखर्कका हरिप्रसाद ढुंगानाले भने ‘नेपालमा ठेकेदारलाई नियमन गर्ने कानुननै रहेनछ् । ठेक्का पायो, पैसा पेस्की लियो । गयो । कामै गर्दैनन् । ठेकेदार बलियो भए वा कमीसन खान नपाउने भएर कानुन बनाउनेलेनै त्यस्तै बनाए । जिल्लाका कर्मचारी पनि ध्यान दिएका छेनन् । उपभोक्तालाई सास्ती भएको छ ।’
निर्माण ब्यवसायीको मिलेमतोमा ठेक्का परेको र अनियमीत पाइएपछि दोस्रो चरणको ठेक्का प्रक्रिया मार्फत देउराली–तोरीपानी खण्डको काम गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनी गत माघ देखि कार्यक्षेत्रमा परिचालन भएको छ । देउरालीदेखि तोरीपानी सम्मको सात किलोमिटर दुरीको उक्त सडक आयोजनाको काम गनै छ करोड १५ लाख ४९ हजार ९८४ रुपैयाँमा सम्झौता भएको छ ।
२०७३ भदौ २ गते सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो चरणमा सडक चाक्लो बनाउने, ग्याबिन पर्खाल लगाउने कामलाई तिब्रता दिएको ठेकेदार कम्पनीका प्रतिनिधि चक्र केसीले बताउनुभयो । आयोजना मार्फत सडकको सबै ठाउँमा नाली बनाउने र ग्राभेल गरिने भएको छ ।
सडकलाई छ मिटर फराकीलो बनाउनुका साथै अप्ठ्यारो ठाउँमा ढलान र पहिरो रोकथामका लागि पक्कि तथा ग्याभिन पर्खाल लगाउने आयोजना प्रमुख ओमबहादुर केसीले बताए । हाल कच्चि अवस्थामा रहेको उक्त सडकमा घुम्ती तथा मोड सुधार गरि नियमित सवारी सञ्चालन हुन सक्ने बनाउने आयोजनाको लक्ष्य छ ।
जिविसले निर्धारीत समयमै आयोजनाको काम सम्पन्न गर्न ठेकेदारलाई कार्यतालीका अनुसार कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले कार्यतालीका, मापदण्ड र गुणस्तर अनुसारको काम भए नभएको अनुगमनमा प्राबिधिक मार्फत कडा निगरानी गरिएको बताए ।
बेनी देखि पाखापानी सम्मको साढे १५ किलोमिटर सडक स्तरवृद्धीका लागि तिन वटा आयोजना सञ्चालन गर्ने भनिएपनि पहिलो र दोस्रो खण्डमै निर्धारीत समय गुज्रीएपछि तोरीपानीदेखि पाखापानी सम्मको काम नहुने देखिएको छ । एक वर्षमा काम सम्पन्न गर्ने योजनाको प्रक्रिया पुरा गराउन र बिवाद मिलाउन चार वर्ष लागेको हो ।
चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट प्राप्त भएको आयोजनाको चार वर्षसम्म दाताले जनाएको प्रतिवद्धता अनुसारको दुई करोड मात्रै खर्च भएको छ । गत वर्ष ९ करोड बजेट प्राप्त भएको थियो ।
उक्त आयोजना मार्फत बेनी नगरपालीकाको अर्थुङ्गे, पुलाचौर, घतानका साथै पात्लेखेत, झिँ, पाखापानी, मल्कवाङ र कुईनेमंगले गाविसका बासिन्दा लाभान्वित हुने जनाइएको छ । यसैबीच बेनी–पाखापानी सडक आयोजनाले प्रभावित सर्वसाधारणहरुलाई करिब डेढ करोड रुपैयाँ क्षत्तीपुर्ती वितरण गरिएको छ । आयोजनाले एक सय भन्दा बढी घरधुरीलाई एक करोड ४५ लाख ९८ लाख ५४ रुपैयाँ क्षत्तीपुर्ती वितरण गरेको हो ।
सडक विस्तारका क्रममा घर, गोठ लगायत पुर्वाधार क्षत्ती हुने, अन्नबाली तथा रुख बिरुवा, गरिब तथा विपन्न र दश प्रतिशत भन्दा बढी जग्गा जमिन सडकमा पर्नेहरुलाई क्षत्तीपुर्ती उपलब्ध गराइएको आयोजनाका प्रमुख जिल्ला ईञ्जिनियर केसीले बताए ।
आयोजनाले पहिलो खण्डमा घर क्षत्ती हुने एक जनालाई क्षत्तीको चालीस प्रतिशत छ लाख १२ हजार २१५ रुपैयाँ क्षत्तीपुर्ती प्रदान गरेको छ । पहिलोमा अन्नबाली क्षत्ती हुनेहरुलाई २०१८ र चार जनालाई फलफुल बिरुवाको ५८ हजार रुपैया क्षत्तीपुर्ती दिइएको छ । यसैगरी दोस्रो खण्डमा १० प्रतिशत भन्दा बढी जग्गा क्षत्ती हुने १६ जना मध्य १० जनालाई एक लाख ४८ हजार २८१ रुपैयाँ प्रदान गरिएको आयोजनाले जनाएको छ ।
त्यस्तै दोस्रो खण्डमा ६ जनाले १० प्रतिशत भन्दा बढी जग्गा सडकमा पर्ने भएपछि ६५ लाख ५८ हजार ९७८ रुपैया क्षत्तीपुर्ती बुझेका छन भने पहिलो खण्डमा ७ जनाले अझै बुझेका छैनन् । त्यसैगरी दोस्रो खण्डमा ५६ जनाले अन्नबालीको एक लाख ४२ हजार ६३९ र २५ घरधुरीले पुर्वाधारको २९ लाख ३७ हजार ७२१ रुपैयाँ क्षत्तीपुर्ती बुझेका छन् ।
पहिलोमा अन्नबाली क्षत्ती हुनेहरुलाई २०१८ र चार जनालाई फलफुल बिरुवाको ५८ हजार रुपैया क्षत्तीपुर्ती दिइएको छ । यसैगरी दोस्रो खण्डमा १० प्रतिशत भन्दा बढी जग्गा क्षत्ती हुने १६ जना मध्य १० जनालाई एक लाख ४८ हजार २८१ रुपैया प्रदान गरिएको आयोजनाले जनाएको छ ।
त्यस्तै दोस्रो खण्डमा ६ जनाले १० प्रतिशत भन्दा बढी जग्गा सडकमा पर्ने भएपछि ६५ लाख ५८ हजार ९७८ रुपैया क्षत्तीपुर्ती बुझेका छन भने पहिलो खण्डमा ७ जनाले अझै बुझेका छैनन् । त्यसैगरी दोस्रो खण्डमा ५६ जनाले अन्नबालीको एक लाख ४२ हजार ६३९ र २५ घरधुरीले पुर्वाधारको २९ लाख ३७ हजार ७२१ रुपैयाँ क्षत्तीपुर्ती बुझेका छन् । नवविकल्प साप्ताहिकको अंक २२ मा प्रकाशित


प्रतिक्रिया राख्नुहोस्