युवा संघको दरबाङमा युवा भेला सहित वृहत खेलकुद मेला शुरु
प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, फागुन ८ गते ।
युवा संघ नेपालका महासचिव किरण पौडेलले नेपालमा बहुमतसहितको स्थिर सरकार बन्न नसक्दा देशले विकासको गति लिन नसकेको बताएका छन् । युवा संघ जिल्ला कमिटी म्याग्दी र दरबाङ गाउँ कमिटीद्वारा संयुक्तरुपमा दर्बाङमा आयोजित बृहत युवा भेला तथा विविध खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै नीतिहरुको मुख्य नीति राजनीति भएकोले राजनीति स्थिर हुन नसकेको हुँदा देश संक्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेको भन्दै देशमा भएका प्राकृतिक स्रोतको संरक्षणसहित उचित प्रयोग गरी देशलाई समृद्ध बनाउनुपर्ने बताए । उनले नेपालमा बनेका अधिकांश सरकारमध्ये २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारबाहेक अन्य सरकारले देश विकास र जनताको पक्षमा काम गर्न नसकेको बताए ।
महासचिव पौडेलले देशमा लामो समयसम्म नेपाली काँग्रेसले एकछत्र राजनीति गरी देशको स्रोतसाधन विदेशीलाई बेचेको आरोप समेत लगाएका छन् । उनले नेपाली काँग्रेसले ल्याएको खुला अर्थनीतिको कारण स्वदेशमा उत्पादित बस्तु विस्थापित भई विदेशी बस्तुले प्रश्रय पाएको बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विगत लामो समयको प्रतिक्षापछि नेपाली जनता र देशले संविधान सभाबाटै नयाँ संविधान पाएको बताएका छन् । उनले अबको देशको कार्यभार भनेको जारी भएको संविधानको कार्यान्वयन गर्दै पुनर्निर्माण र आर्थिक विकास गरी देशलाई समृद्ध मुलुक बनाउने बाटोतर्फ अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जिल्लाको विकास निर्माणमा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै दर्बाङ–खारा–खाम्ला जोड्ने मोटरबाटोको स्तरोन्नति गर्न एमालेको पहलमा बजेट छुट्टिएको जानकारी दिए । उनले उक्त मोटरबाटोले मराङ, मल्कबाङ, ताकम, मुना र लुलाङका समेत जनता लाभान्वित हुने बताउँदै जनताको पैसामाथि भ्रम सिर्जना नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।
युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख सन्तोष रावलले युवा संघले युवालाई रोजगारी दिनुपर्ने नभए बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने, युवा स्वरोजगार कोषको स्थापना, युवा मन्त्रालय गठन र संविधानमै युवाहरुको संवैधानिक अधिकारको ग्यारेण्टी गर्न पहल गरेको बताए । उनले भूकम्पपछिको पुनर्निर्माण गर्न देशको राष्ट्रियता जोगाउनलगायतका सवालहरुमा युवा संघले सशक्त आन्दोलन गरिरहेको बताउँदै अब हरेक युवा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिएका थिए । युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुद क्षेत्रले राष्ट्रका सबैलाई एकताको सुत्रमा बाँधेको बताउँदै राज्यले खेलकुदको विकासका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य मोतीराज उपाध्याय, युवा संघ म्याग्दीका निवर्तमान अध्यक्ष दिनेश केसी, धौलागिरि अञ्चल अध्यक्ष नारायण जिसी, म्याग्दी अध्यक्ष प्रवीण शाही, महिला सञ्जाल दर्बाङका अध्यक्ष गौमती चापागाईं र अनेरास्ववियु जनप्रिय उच्च माविका अध्यक्ष गिरीप्रसाद बोहोराले मन्तव्य राखेका थिए ।
पश्चिम म्याग्दीको भेगलाई लक्षित गरी सञ्चालन गरिएको खेलकुद मेला आगामी मङ्गलबारसम्म सञ्चालन हुने भएको छ । खेलकुद प्रतियोगितामा पुरुष तथा महिला भलिबल, व्याडमिन्टन प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ । पुरुषतर्फ प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार, महिलातर्फ १५ हजार, र ८ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसैगरी व्याडमिन्टनतर्फ प्रथमलाई १० हजार र द्वितीयलाई ५ हजारका साथमा प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
औपचारिक कार्यक्रम शुरु हुनुपर्व एमाले र युवा संघका स्थानीय नेता तथा कार्यकर्ता, शुभेच्छुक, विभिन्न गाविसका युवा क्लब, आमा समूहलगायतले दरबाङ बजारको परिक्रमा गरेका थिए । उक्त कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले हाँस्यव्यङ्ग्य तथा नृत्य प्रस्तुत गरेका थिएभने उनीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम युवा संघ दर्बाङका अध्यक्ष तारामन रोकाको अध्यक्षता, इलाका–८ का सदस्य सुरेन्द्र पुनको स्वागत र एमाले दरबाङका सचिव सन्तोष सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्