बेनीमा टेलिकमको एनटी वाईफाई र थ्रीजीको काम, चल्दैन पैसा मात्रै काट्छ झ्वामझ्वाम्
प्रताप बानियाँ /विकल्प
म्याग्दी, फागनु ५ गते ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दी शाखाले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको एनटी वाईफाई र थ्रिजी सेवामा समस्या आएपछि सर्वसाधारणलाई सास्ती भएको छ । धौलागिरि अञ्चलमै पहिलोपटक म्याग्दी जिल्लामा २०७१ साल वैशाख २३ गतेबाट शुरु गरेको एनटी वाईफाई र थ्रीजीको गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिएपछि उपभोक्तालाई सास्ती भएको हो ।

सर्वसाधारण नागरिकमा ईन्टरनेटमाथि पहुँच बढाउन वाईफाई तथा थ्रीजी सेवा सञ्चालन गरिएको भए पनि प्रभावकारी सेवा लिनबाट आफूहरु बञ्चित हुनुपरेको सर्वसाधारणले गुनासो गरेका छन् । एनटी वाईफाई र थ्रीजी सञ्चालनका लागि म्याग्दी सदरमुकाम बेनीको डल्फीन होटलमाथिको टावर, क्याम्पसचोक र गलेश्वरको बिटिएस टावरमा वाइफाईका उपकरणहरु जडान गरिएको थियो ।
टावरको १५० देखि २०० मिटर वरपरको क्षेत्रमा यो सेवा प्रयोग गर्न सकिनेगरी सेवा सुचारु गरिएपनि अहिले समस्या देखिएको हो । एनटी वाईफाईको डाटा प्याकेज किनेर ईन्टरनेट चलाउने प्रयास गर्दा विस्तारै चल्ने गरेको र लोडिङ भैरहने समस्या सेवाग्राहीलाई छ । तत्कालीन समयमा सेवा जडान गरी शुरु गरेपछि नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख विष्णुदेव शाहद्वारा एक विज्ञप्ति जारी गरी सेवाको बारेमा जानकारी गराइएको थियो ।
तर उक्त सेवा सञ्चालन गरेको केही समयमै समस्या देखिएपछि बेलाबेलामा सेवाग्राहीले गुनासो गर्दै आइरहेका छन् । प्रिपेड र पोष्टपेड दुबैथरी मोबाइल फोन प्रयोगकर्ताका लागि सञ्चालनमा ल्याइएको उक्त सेवा प्रयोग गरेबापत करबाहेक प्रतिमिनेट करिब १७ पैसा अर्थात् प्रतिघण्टा १० रुपैयाँ खर्च गर्नुपर्ने थियो । डाटा खरिद गरेर नेट चलाउन खोज्दा पैसा मात्रै काटेको र नेट नचलेको विद्यार्थी भरत कार्कीले गुनासो गरे ।
डल्फिन, क्याम्पसचोक, गलेश्वर र दर्बाङमा परीक्षण गर्दा नेटको पर्पmरमेन्स राम्रो नदेखिएपछि अन्य ठाउँमा सेवा विस्तार नगरिएको र व्याकअपको व्यवस्था नहुँदा बिजुली जाँदाबित्तिकै नेट पनि जाने समस्या रहेको नेपाल टेलिकम म्याग्दी शाखाले जनाएको छ । यसैगरी थ्रीजी सेवा पनि पुरानो मोडेलको भएको र हाल धौलागिरिमा थ्रीजीको एउटा पनि बिटिएस स्थापना हुन नसक्दा समस्या भैरहेको शाखा प्रमुख विष्णुदेव शाहले बताए ।
थ्रीजी सेवाका लागि पनि डल्फिन, क्याम्पसचोक र पुलाचौरमा राखिएको टावरमा उपकरण जडान गरिएपनि अहिले आएर पुलाचौरको बिटिएसमा व्याकअप नहुँदा सो सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । थ्रीजी सेवालाई नयाँ मोडेलमा रुपान्तरण गरी आगामी वैशाख महिनाबाट चलाउने तयारी गरिएको शाखा प्रमुख शाहको भनाई छ ।
नेपालमा निजी कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको टेलिकमले आफ्नो सेवामा विविधीकरण गरेपनि गुणस्तरीय सेवा उपलब्ध गराउन सकिरहेको छैन । नेपाल टेलिकमलाई मुख्य प्रतिष्पर्धीका रुपमा पछिल्लो समय एनसेलले चुनौती दिँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्