ताकममा यसरी अघि बढेको छ घनाबस्ती विकास कार्यक्रम (फोटो फिचर)
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ४ गते ।
म्याग्दीको ताकममा सञ्चालन भएको घनाबस्ती विकास कार्यक्रमले ७ वर्षपछि गति लिएको छ । सरकारले ताकममा बस्ती विकासका लागि पुर्वाधार निर्माण र सेवा सुबिधा विस्तार गर्न वि.स २०६५ देखि थालेको कामले तिब्रता पाएको हो ।
सहरी विकास मन्त्रालयले ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडामा घनाबस्ती विकास कार्यक्रम सुरु गरेको थियो । राज्यका निकाय, स्थानीयबासीन्दा र गाउँका अगुवामा घनाबस्ती कार्यक्रमप्रती बुझाईमा एकरुपता नहुँदा करिब सात वर्षसम्म उल्लेख्य काम हुन सकेको थिएन् ।

पछिल्लो समय प्रशासनीक, सामुदायीक तथा सार्वजनीक सेवा प्रदायक निकायको भवन, सडक, खानेपानी, विद्युत लगायतका योजना निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहीत भएका ताकम घनाबस्ती कार्यक्रम उपभोक्ता समितिका सचिव छवीलाल सुवेदीले बताउनुभयो ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको २४ लाख र स्थानीय बासीन्दाको १४ लाख रुपैया लगानीमा ताकम ३ पधेराचौरमा निर्माण भएको सभाहल सहितको सामुदायीक भवनको गत हप्ता उद्घाटन भएको छ । यसैगरी प्रहरी चौकी, स्वास्थ्य संस्था, ईलाका वन कार्यालय तथा सामुदायीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भैसकेको छ ।
आधुनिक उपकरण जडित विउ प्रशोधन गृह सञ्चालनमा आएको ताकममा गाविस कार्यालय र कृषि सेवा केन्द्रको पनि नयाँ भवन निर्माण गर्ने तयारी भएको छ । दरवाङ हुदै केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तारको काम अघि बढेको छ । स्थानीयबासीको दुई करोड भन्दा बढी लागतमा दरवाङ ताकम जोड्ने १० किलोमिटर सडक निर्माण भएको छ ।
हाल तिन सय भन्दा बढी घरपरिवारको बसोबास रहेको ताकमका प्रत्येक घरमा खानेपानी सुबिधा विस्तार गर्ने लक्ष्य सहित आयोजना सञ्चालन भएको उपभोक्ता समितिका सल्लाहकार देवबहादुर थापाले बताउनुभयो । पश्चिम म्याग्दीको अन्नको भण्डार मानिने टम्म मिलेको फाँट रहेको ताकममा पुर्वाधार विकास गरी छरीएर रहेको बस्तीलाई केन्द्रित गर्ने उद्देश्यले घनावस्ती कार्यक्रम लागु भएको हो ।
बाढी, पहिरोको न्युन जोखिममा रहेकाले बस्ती विकासका लागि प्राबिधिक तथा भौगोलिक हिसावले उपयुक्त रहेको सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका ईञ्जिनियर रोशन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घनावस्ती विकाससंगै बजारीकरण हुने, राज्यले प्रदान गर्ने सुबिधा सेवा केन्द्र मार्फत स्थानीय स्तरमै उपलब्ध हुने, रोजगारीको सिर्जना र स्थानीयको आयआर्जन वृद्धी भई बिदेशिने तथा बसाईसराईको समस्या कम गर्ने मुख्य उद्देश्य राखीएको छ ।
ताकममा घनाबस्ती विकासका लागि तयार पारिएको गुरुयोजना अनुसार स्थानीयको जनसहभागितामा सहरी आवास तथा भवन डिभिजन कार्यालयले विभिन्न पुर्वाधार विकासको योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७१७२ र चालु आर्थिक वर्षमा २५२५ लाख रुपैयाको योजना सञ्चालन भएको ताकममा आगामी वर्षदेखि बजेट र योजना बृद्धी गर्दै लैजाने भवन डिभीजन कार्यालयले जनाएको छ ।

कच्चि सडक पुगेको ताकमको सबै वडामा सहायक सडक विस्तार गरिएको छ । यस वर्ष सडक स्तरवृद्धी, खेलमैदान निर्माण गर्ने तयारी भएको ताकममा तरकारी बजार स्थल र बसपार्क निर्माण गर्ने योजना पनि रहेको छ । गाउँमा एकपछि अर्को गर्दै विकासका योजनाहरु सञ्चालन हुन थालेपछि ताकमबासीमा उत्साह छाएको स्थानीय बासीन्दा मनबहादुर भण्डारीले बताउनुभयो ।
स्थानीय बासीन्दामा विकासप्रति जागेको आशा, उत्साह र सक्रियतालाई एकता कायम गर्दै जनपरिचालन तथा निरन्तरता दिन सकेमा कृषि, पशुपालन र पर्यटनका हिसावले सम्भावनायुक्त ऐतिहाँसीक महत्वको ताकम गाउँ नमुना बस्तीका रुपमा विकसीत भएको हेर्न धेरै समय पर्खनु पर्दैन् ।


प्रतिक्रिया राख्नुहोस्