स्वर्ण जित्दा स्वर्गिय बाबुको हँसिलो अनुहार देखें
सिलोङ, फागुन ४
नेपालकी जुडो खेलाडी फुपु लामु खत्रीले बाह्रौ सागमा जति बेला स्वर्ण जितिन्, उनले हलमा वरिपरि आफ्नो स्वर्गिय बाबुको हँसिलो अनुहार देखिन् ।
२ वर्षअघि सगरमाथा आरोहणका क्रममा हिम पहिरोमा परेर २ वर्षअघि ज्यान गुमाएका बाबु दोर्जे खत्रीको अनुहार झलझली आँखामा आएपछि उनले मन थाम्न सकिनन् र एरिनामै रुन थालिन् । जुडोको राउण्ड रोबिन खेलमा भारतकी खेलाडीलाई हराएपछि उनले स्वर्ण पदक पक्का गरेकी थिईन् । ‘जिते लगत्तै बुबाको हाँसेको तस्बिर मेरो आँखा अगाडी आयो’ आँखाबाट आँसु खसाल्दै उनले भनिन् ‘अनि म त म्याट (जुडो खेल्ने ठाउँ) मै रोएँ, आँखाबाट ह्वाल ह्वाल आँसु आए ।’आफ्नो आँखाबाट आँसु खसेपनि आफू स्वर्ण जित्दा धेरै खुसी भएको उनले बताईन् ।
‘मेरो ड्याडीसँग हर्ट कनेक्सन छ’ भारतमा चलिरहेको बाह्रौं सागमा स्वर्ण जितेलगत्तै उज्यालो अनलाइनसँग कुरा गर्दै फुपुले भनिन् ‘मेरो ड्याडी नभएको भए म अहिले यो स्थानमा हुँदैन थिएँ, त्यसैले म यो स्वर्ण पदक उहाँलाई समर्णपण गर्छु ।’
नेपालले भारतको मद्रासमा २१ वर्षअघि भएको सातौ सागपछि जुडोमा स्वर्ण जित्न सकेको थिएन । जुडोमा २१ वर्षसम्म परेको स्वर्णको खडेरी तोडेकाले पनि फुपु निक्कै खुसी थिईन् ।
हंगेरीको तालिम र सिलोङमा पाएको मनोपरामर्श उपायोगी
उसुमा निमा घर्ती मगरले स्वर्ण पदक जितेको खबर हंगेरीमा नै सुनेकी उनी निमाले जस्तै स्वर्ण जित्ने लक्ष्यले सिलोङ आइपुगेको बताउँछिन् । ‘निमा बहिनीले जितिछन्’ उनले भनिन् ‘मैंले पनि स्वर्ण जित्छु भन्ने ठानेर नै म हंगेरीबाट हिँडेकी थिएँ ।’
६ कक्षामा पढ्दाखेरि नै जुडो खेल्न थालेकी फुपुले आफूसँग भएको सीपलाई हंगेरीमा तिखार्ने मौका पाइन् । ‘हंगेरीमा २२ दिनको अभ्यासमा त्यहाँका गुरुहरुले मसँग भएको सीपलाई निखार्नु भयो’ उनले भनिन् । अन्तर्राष्ट्रिय जुडो महासंघ र नेपाल ओलम्पिक कमिटिको सहयोगमा हंगेरीमा जुडोको ६ महिने तालिमको अवसर पाएकी फुपु एक महिनाको तालिम सकेर सागका लागि गत बिहीबार उतैबाट सिलोङ आइपुगेकी थिइन् । सिलोङ आएलगत्तै उनी टिमसँगै मनोपरामर्शदाताकहाँ पुगिन् ।
‘परामर्श दिने दाइ दिदीले तपाईंले यो प्रतियोगितामा के गर्ने आजै निर्णय गर्नुस भन्नुभएको थियो’ परामर्शदाताबाट पाएको परामर्श सुनाउँदै उनले भनिन् ‘मन आनन्द पारेर उहाँहरुले भनेका कुरा पछ्याउँदै जाँदा त्यो रात नै मैंले मरेर भएपनि स्वर्ण ल्याउनु पर्छ भनेर आफैंसँग कुरा गरें ।’ परामर्श निक्कै उपयोगी भएको उनको दावी छ ।
होटलमा खाजा खान आउनेले जुडोसँग जोडेको सम्बन्ध
काठमाडौंको नयाँ बजारमा बाबु आमाले सञ्चालन गरिरहेको सामान्य होटलमा खाजा खान छिरेका चन्द्र डंगोल र लिला अधिकारीले बाबु आमालाई काम सघाइरहेकी फुपुलाई देखेपछि जुडो खेल्न सल्लाह दिए ।
ताप्लेजुङमा जन्मिएका दोर्जे खत्रीले डंगोल र अधिकारीको सल्लाह मान्दै छोरीलाई जुडो खेल्न पठाए । ‘उहाँहरुले नै मेरो बुबालाई सल्लाह दिनुभयो’ फुपुले भनिन् ‘उहाँहरुको सल्लाह मानेर मलाई बुबाले जुडो खेल्न पठाउनुभयो र अहिले मैंले यो सफलता पाएँ ।’
सागको स्वर्णपछि अबको लक्ष्य
फुपु यहि वर्ष ब्रजिलमा आयोजना हुने रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा प्रशिक्षणरत छिन् । प्रशिक्षणकै क्रममा हंगेरीबाट सिलोङ आएकी उनी अब फेरि प्रशिक्षणका लागि हंगेरी जानेछिन् । ओलम्पिकमा पदक जित्नु उनको लक्ष्य छ । ‘अहिलेसम्म कसैले नरचेको इतिहास रच्नु मेरो लक्ष्य छ’ सिलोङको जबहरलाल नेहरु स्पोटर्स कम्लेक्सको कभर्ड हलभित्र उनले भनिन् । स्वर्गिय बाबुले देखाएको सपनाकै आधारमा आफूले यो लक्ष्य बनाएको बताउने उनी ओलम्पिकमा पदक जितेर बाबुले देखेको सपना पुरा गर्ने बताउँछिन् ।
दोर्जेको निधनपछि फुपु, आफ्नी आमा, दिदी र भाइसँग काठमाडौंको धर्मस्थलीमा बस्दै आएकी छिन् । पिपुल्स कलेजमा बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षे फुपुले खेलसँगै पढाईलाई पनि अघि बढाएकी छिन् । पढाई अघि बढाउनु पनि आफ्नो अर्को लक्ष्य रहेको उनी बताउँछिन् । सुफल काफ्ले/उज्यालो


प्रतिक्रिया राख्नुहोस्