एमाले म्याग्दीको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण
प्रताप बानियाँ/विकल्प
म्याग्दी,फागुन १ गते ।
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने नारासहित संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान–२०७२ अन्तर्गत कार्यक्रम गरिएको हो ।
जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव युवराज ज्ञवालीले अबको नेपालको विदेश नीति आर्थिक एजेण्डालाई केन्द्रीत गर्नुपर्ने धारणा राखेका छन् । उनले देशको उत्तर र दक्षिणको सिमानामा दुई ठूला छिमेकी देश भएकाले नेपालले भारत र चीनलाई विश्वासमा लिएर आर्थिक विकास गर्नुपर्ने बताए ।
सचिव ज्ञवालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमाथी चर्चा गर्दै सरकारले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, आर्थिक विकासलगायतका विषयहरुलाई प्राथमिकताकासाथ अगाडि बढाइरहेको जानकारी दिए । उनले सरकारले उर्जा सङ्कटकालको समयमा देशका विभिन्न स्थानमा बन्दै गरेका जलविद्युतका आयोजना र रोकिएका आयोजनाको तीब्रगतिमा स्तरोन्नति हुने समेत बताएका छन् ।
सरकारले चीनसँग सीमा जोडिएको मुख्य ४ वटा नाका रसुवाको केरुङ नाका, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोरला र विराटनगरको किमाथाङ्क नाकामा सडकको स्तरोन्नति गरी दुई देशबीच व्यापारीक कारोबार गर्नका लागि उक्त नाकाहरु खोल्न आवश्यक गृहकार्य गरिरहेको बताए ।
कार्यक्रममा नेता ज्ञवालीले नेपालको जारी संविधानको भएको विशेषता, कार्यान्वयन, अन्तर्वस्तु र पार्टी सङ्गठन निर्माण एवं विस्तारलगायतका विषयहरुमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । यसैगरी एमालेका वैकल्पिक केन्द्रीय सदस्यद्वय भूपेन्द्र थापा र मना केसीले पनि पार्टीको नीति कार्यक्रम र समसामयिक विषयमा बोलेका थिए ।
म्याग्दी जिल्लाका झण्डै २०० नेता तथा कार्यकर्ता सहभागी कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्