अखिल क्रान्तिकारी म्याग्दीको सोहै सम्मेलन सम्पन्न
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १ गते ।
२१ औ जनयुद्ध दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सोहौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सुदिन पौडेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा यामनाथ पौडेल, गणेश शर्मा, सचिवमा रेशम केसी, कोषाध्यक्षमा रसीला बस्नेत र सहसचिवमा धिरन खत्री निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा शंकर शर्मा, सन्दीप निउरे, भागीरथ पाण्डे, प्रमिला पौडेल, सुभद्रा रिजाल, योगेश कार्की, मिलन कार्की, सुदीप खत्री र रेशम पौडेल रहनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष नगेन्द्र न्यौपानेले सामुदायीक शिक्षाको सुधार र शिक्षामा बढ्दो ब्यापारी तथा ब्यवसायीकरण रोक्न राज्यको लगानी बढाउनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष न्यौपानेले नयाँ संबिधान, संघियता, धर्मनिरपेक्षता, समावेशी ब्यवस्था, गणतन्त्र माओवादी आन्दोलनको उपलब्धी भएको दावी गर्दै संबिधानले युवा विद्यार्थीहरुको मागलाई समेत सम्बोधन गरेको र पुरा नभएका मागलाई संसोधन गर्न सकिने बताउनुभयो ।

कार्यत्रममा एकिकृत नेकपा माओवादी म्याग्दीका ईञ्चार्ज मानबहादुर बुढा, अध्यक्ष चन्द्रबहादुर घिमीरे, अखिल क्रान्तिकारीका ४ नम्बर प्रदेश संयोजक पुरन केसी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश संयोजक सोमनाथ ढुंगानाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सम्मेलनको क्रममा कक्षा ११ र १२ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने रेशम केसी, बिभा ढुंगाना र भागीरथ पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो । बेनी बजारमा ¥यालीले परिक्रमा गरेर जिविसमा पुगेर सम्मेलन सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्