म्याग्दीको गलेश्वरमा रथयात्रा सहित मुक्तिहरिराधाकृष्ण महामहोत्सव सुरु (फोटो सहित)
प्रताप बानियाँ/विकल्प
म्याग्दी, माघ २९ गते
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा शुक्रबारदेखि राधाकृष्ण महामहोत्सव शुरु भएको छ ।
२०४४ सालमा स्थापित राधाकृष्ण मन्दिरको आधुनिक कलाकृतिले सु–सज्जित रुपमा प्राचीन विमानशैलीमा पुनर्निर्माण गरी रथयात्रासहित उद्घाटन गरिएको हो ।
मन्दिर उद्घाटनसत्रको पूर्वसन्ध्यामा चतुर्वाहु कृष्णको मूर्तिको रथयात्रासहित बाजागाजा र भजनकिर्तन गरी म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गराई गलेश्वर मन्दिरमा पु¥याइएको थियो । गलेश्वर मन्दिर परिसरभित्र रहेको शिवालय मन्दिरको मुख्य प्रवेशद्वार अगाडि मूर्तिको पुजा गरी उक्त मन्दिरको परिक्रमा गराई राधाकृष्ण मन्दिरमा प्रवेश गराइएको थियो ।

मूर्तिको अनन्तश्रीविभूषित स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाले उद्घाटन गरेका छन् । कार्यक्रममा स्वामी ऋषिप्रपन्नाचार्यले मन्दिर निर्माणबारे जानकारी गराएका थिए । उनले मन्दिर निर्माणका लागि हालसम्म ४९ लाख खर्च भैसकेको बताउँदै स्वामी कमलनयनाचार्यका भक्तहरुको सहयोगमा मन्दिर निर्माण गरिएको बताएका छन् । उनले हालसम्म मन्दिर निर्माणका लागि ४८ लाख ३८ हजार १४५ रुपैयाँ सहयोग भएको जानकारी दिए ।

निर्माण गरिएको मन्दिरको पूवतर्फ चतुर्वाहु कृष्णको मूर्ति, पश्चिमतर्फ बह्मा, विष्णु र महेश्वरको, उत्तरतर्फ राधाकृष्ण र दक्षिणतर्फ सीतारामको मूर्तिहरु कुँदिएको छ । यसैगरी मन्दिरको शिरमा ४ चोसामा ४ ओटा गरुडका मूर्ति र शिरमा ८ ओटा सिंह प्रकृतिका प्रतिक छन्भने तिनलाई वशमा लिने ४ ओटा विष्णु भगवानका मूर्तिलगायत थुप्रै मूर्ति एवं पौराणिक प्रतिकहरु कुँदिएको छ ।

फागुन ५ गतेसम्म चल्ने महोत्सवको दोस्रो दिन तीर्थस्नान अंकुरारोपण र ध्वजारोहण, तेस्रो दिन मण्डपपुजा जलाधिवास र दुग्धाधिवास, चौथो दिन धान्याधिवास हवान आदी, पाँचौं दिन शैयाधिवास नित्यकर्म र अन्तिम दिन नेत्रोन्मीलन प्राण प्रतिष्ठा गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

मन्दिर उद्घाटन कार्यक्रममा व्यवस्थापिका संसदका सांसद रेशमबहादुर बानियाँ, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँ र धार्मिक संघसंस्थाको तर्फदेखि प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
स्वामी कमलनयनाचार्यको अध्यक्षता र विन्ध्यावासिनी क्याम्पस पोखराका उपप्राध्यापक जगन्नाथ रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव गुमानसिं काकीले स्वागत गरेका थिए ।


प्रतिक्रिया राख्नुहोस्