कल्लेनीका बासिन्दाद्धारा पर्यटकीय स्थलमा पुर्वाधार निर्माण
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ २८ गते ।
म्याग्दीको मराङ गाविस ३ कल्लेनीका बासिन्दाहरु पर्यटकीय स्थलमा पुर्वाधार निर्माणमा जुटेका छन् । गाउँमा भित्र्ने पर्यटकको सुबिधा तथा पर्यटन विकासका लागि कल्लेनीका बासिन्दाहरुले आवास स्थल, पदमार्ग निर्माण, पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारमा जुटेका हुन् ।
त्यहाँका बासिन्दाहरुले पछिल्लो समय श्रमदान गरेर पर्यटक क्याम्पीङ साईट (आवास क्षेत्र)को निर्माण गरेका छन् ।
२७ घरधुरीको बसोबास रहेको कल्लेनीका बासिन्दाहरुले करिब दुई लाख रुपैया बराबरको श्रमदान गरेर खिरोबोट भन्ने ठाउँमा क्याम्पीङ साईट निर्माण गरिएको स्थानीय अगुवा युवा खगिन पुनले जानकारी दिनुभयो । धौलागिरी चक्रीय पदमार्गको भ्रमणमा जाने र त्यहाबाट फर्कने पर्यटकहरुको सुरक्षित र ब्यवस्थित बसाईका लागि क्याम्पीङ साईट बनाएको उहाले बताउनुभयो ।

भिरालो पाखोमा सम्माएर खेलमैदान जस्तै बनाइएको क्याम्पमा खानेपानी र शौचालयको समेत ब्यवस्थ ागर्न लागिएको छ ।
यसअघि कल्लेनीका बासिन्दाले पर्यटकीय हिसावले सम्भावनायुक्त क्यामध्याम गुफा सम्म जाने पदमार्ग बनाइसकेका छन् । उनिहरुले गुफाको संरक्षण र प्रचारप्रसारका लागि विभिन्न गतिबिधि गर्दै आएका छन् ।
मगर समुदायको बसोबास रहेको कल्लेनी गाउ धौलागिरी चक्रीय पदमार्ग अन्तरगत पर्छ । कल्लेनीमा रहेको क्यामध्याम गुफाका साथै छहरी खोलाको झरना पनि पर्यटकीय हिसावले सम्भावनायुक्त मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्