आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम
विकल्प न्यूजबेनी
माघ २८ गते ।
म्याग्दी जिल्लामा आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
खुल्ला रुपमा बिक्री वितरण हुने ढिके नुनको प्रयोग घटाउने र आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग बढाउन सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले कार्यक्रम गरेका हुन् । हरेक अंग्रेजी वर्षको फेब्रअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने गरिएको छ ।
म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालय र मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा परियोजनाले समुदाय स्तरमा दुई बालबालिकाको चिन्ह भएको प्याकेटको आयोडिनयुक्त नुनको सुरक्षित रुपमा भण्डारण र उपयोगका विषयमा एक महिने अभियान चलाएका छन् ।
विभिन्न वडा तथा समुदायमा प्रयोग भैरहेको नुनमा आयोडिनको मात्रा छ छैन भनेर परिक्षण गर्ने, सुरक्षित रुपमा प्रयोग तथा भण्डारण गर्ने तरिका सिकाउने, आयोडिनयुक्त नुनको फाईदा र आयोडिनको कमीले हुने स्वास्थ्य समस्याको बारेमा जानकारी गराउने काम भैरहेको मिलन म्याग्दीका सुआहारा कार्यक्रमका फिल्ड संयोजक रनबहादुर सारुले जानकारी दिनुभयो ।

अभियानका क्रममा बुधबार घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीका बासिन्दाले प्रयोग गर्ने नुनमा आडोडिनको मात्रा परिक्षण गर्दा सुरक्षित नुनको प्रयोग भैरहेको पाइएको छ । म्याग्दीका सबैजसो गाविस तथा वडाहरुमा फेब्रअरी महिनाभरी कार्यक्रम गरिने सारुले बताउनुभयो । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्