एकै परिवारबाट विद्यालयलाई एघार लाख रुपैयाँ मूल्यको जग्गा सहयोग
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ २५ गते ।
म्याग्दीको घारमा रहेको मुक्तिमार्ग उच्च माविलाई स्थानीय एक परिवारले एघार लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।
घार गाविस ५का देवबहादुर खड्का (नारायण)ले ११ लाख रुपैयाँमा जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनु भएको हो । नारायण र उहाँका बुवा टिकाबहादुरले सोमबार घारका कृष्णबहादुर खड्कासंग खरिद गर्नुभएको तिन रोपनी जग्गा उच्च माविका नाममा रजिष्टे«सन पास गरीदिनु भएको छ ।
खड्का परिवारले जग्गा पास खर्च समेत आफैले ब्यहोरेका छन् । खड्काले उपलब्ध गराउनुभएको जग्गामा उच्च माविको आठ कोठे भवन निर्माण गर्ने तयारी भएको छ । मुक्तिमार्ग बहुमुखी क्याम्पसका प्रमुख ठकराज बरुवाल र घार गाविसका सचिव बाबुराम शर्माको रोहबरमा जग्गा हस्तान्तरण गरिएको हो ।

काठमाडौको सामाखुसीमा रहेको साम्दो टे«कीङ एजेन्सीका सञ्चालक खड्काले यसअघि पनि विपद् पिडित र सामाजिक क्षेत्रमा लाखौ रुपैया सहयोग गरिसक्नुभएको छ । मुक्तिमार्ग क्याम्पस र घार युवा सामुदायीक पुस्तकालयका लागि चार लाख रुपैयाँ मूल्य बराबरको पुस्तक सहयोग गर्नुभएको थियो ।
गत जेठ १० गतेको बैसरीको पहिरो पीडितहरुलाई एक लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्नुभएको थियो । यसैगरी घार युवा कल्वको सक्रियतामा खेल मैदानको प्याराफिट निर्माण गर्ने क्रममा पनि खड्काले एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्