ओझेलमा परेको पशुपालन ब्यवसाय
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ २४ गते ।
पुँजी लगानी र जनसहभागीताको हिसावले अगाडी भएपनि म्याग्दीमा पशुपालन ब्यवसाय ओझेलमा परेको छ । म्याग्दीमा उद्योग ब्यवसायको तुलनामा पशुपालनमा पुँजीको लगानी र श्रमको सहभागीता धेरै गुणा बढी छ । यद्यपी यो क्षेत्र ब्यवस्थित र व्यवसायीक बन्न नसक्दा ओझेलमा परेको हो ।
म्याग्दीका कृषकहरुले ब्यवसायीक पशुपालनका लागि रु. साढे तिन अर्ब भन्दा बढी लगानी गरेका छन् । कृषकहरुले ब्यवसायीक रुपमा गाईभैसी र भेडाबाख्रा पालन गर्न रु. तिन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनीक गरेको तथ्याङ्कमा जिल्लाभर ९२ वटा गाईभैसी र २८७ वटा भेडाबाख्रा फार्म सञ्चालनमा रहेको उल्लेख छ ।
कार्यालय र सेवा केन्द्रका प्राबिधिकहरुले स्थलगत रुपमा संकलन गरेको विवरण अनुसार पशुधन र पुर्वाधार तर्फ उक्त लगानी भएको पाइएको पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । रु. तिन अर्ब ४४ करोड ८६ लाख ६६ हजार रुपैयाँ पशुधन रहेका ब्यवसायीक फार्म सञ्चालनका लागि पुर्वाधार तयार गर्न न्युनतम २३ करोड ५५ लाख रुपैया लगानी भएको छ । ‘ब्यवसायीक र ब्यवस्थित बन्दै गएको म्याग्दीको पशुपालन क्षेत्रमा उद्योग, ब्यवसायको तुलनामा धेरै पुजी लगानी भएको छ’ रेग्मीले भन्नुभयो ‘दूग्ध र मासु उत्पादनका लागि ब्यवसायीक पशुपालनको म्याग्दीमा राम्रो सम्भावना भएको यस तथ्याङ्कले पुष्टि गरेको छ ।’
ब्यवसायीक पशुपालनको माध्यमबाट एक हजार पाँच सय जनाले रोजगारी पाएको देखिएको छ । म्याग्दीमा दूध उत्पादनका लागि २९६ भैसी, ५७२ गाई तथा आठ हजार ४८६ बाख्रा र १२ हजार ४८० भेडा मासु उत्पादनका लागि ब्यवसायीक रुपमा पालीएका छन् । जिल्लाभर ब्यवसायीक बाख्रा फार्मको संख्या १५९ छ भने भेडाको ५८ वटा छन् । ६० वटा भेडाबाख्राको संयुक्त फार्म रहेको म्याग्दीमा दुई सय भन्दा बढी भेडाबाख्रा रहेका फार्मको संख्या १८ वटा छ । ४३ वटा फार्ममा ५० देखि दुई सय वटा, १२७ वटामा २० देखि ५० बटा भेडाबाख्रा छन भने ३३ वटा फार्ममा ५० भन्दा बढी बाख्रा छन् । दूध उत्पादनका लागि स्थानीय लिमे, पारकोट, उन्नत मुर्रा तथा बर्णशंकर जातका भैसी पालन भएको छ ।
कृषकहरुले स्थानीय, जर्सी र होलस्ट्यान जातका गाई पालन गरेका छन् । यसैगरी खरी, जमुनापारी, बोयर, बारबरी, सिनाल लगायतका बाख्रा र भ्याङ्लुङ तथा बरुवाल जातका भेडा मासु उत्पादनका लागि पालीएको छ । सदरमुकाम आसपासका क्षेत्रमा दूग्ध उत्पादनका लागि गाईभैसी तथा ग्रामिण र लेकाली क्षेत्रमा भेडाबाख्रा पालन भएको छ । २० भन्दा बढी भेडाबाख्रा पाल्ने र ५ भन्दा बढी गाईभैसी पाल्ने कृषकलाई ब्यवसायीक मान्ने गरिएको छ ।

बजारको राम्रो सम्भावना, छिटो आम्दानी गर्न सकिने, परम्परागत सिपमा आधारीत, घाँस तथा आहाराको आपुर्ती राम्रो, पर्याप्त वनजंगल र चरनक्षेत्र भएकाले म्याग्दीमा ब्यवसायीक पशुपालनको राम्रो सम्भावना रहेको बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो । ८४ हजार ४५२ हेक्टर क्षेत्रफल रहेको म्याग्दीको १३ प्रतिशत जमिनमात्रै खेतीका लागि प्रयोग भएकाले बाँझो जमिनमा घाँस खेतीको माध्यमबाट पशु आहरा आपूर्ती गराउने सम्भावना छ ।
म्याग्दीमा जिविकोपार्जनका लागि परम्परागत रुपमा निर्वाहमुखी तरिकाले गरिदै आएको पशुपालन पछिल्लो समय ब्यवसायीक र व्यवस्थित बन्दै गएको छ । कृषकहरुमा चेतनाको विकास, अनुकुल हावापानी र बजार विस्तारसंगै ब्यवस्थित र ब्यवसायीक रुपमा पशुपालन गर्न थालेका हुन् । नयाँ फर्म स्थापना हुने र धेरै वर्ष पहिले देखि पशुपालन गर्दै आएका कृषकहरु जिल्ला पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति लगायतका निकायमा दर्ता हुने क्रम बढेको पशु विकास अधिकृत नरबहादुर बानियाले बताउनुभयो । सरकारले कृषकलाई उपलब्ध गराउने अनुदान लगायतका सेवा सुबिधा प्राप्त गर्नका लागि पहिलेदेखि पशुपालन गर्दै आएका कृषकहरुले फर्म दर्ता गर्न थालेका छन् ।
आर्थिक वर्ष २०७०७१ मा ७४ वटा गाईभैसी फार्म दर्ता भएको म्याग्दीमा पछिल्लो डेढ वर्षयता १८ वटा थपिएका छन् । यसैगरी आर्थिक वर्ष २०७०७१ मा ९७ वटा रहेका बाख्रा फार्मको संख्या गत आर्थिक वर्षमा ६२ वटाले वृद्धी भएको थियो । हालसम्म ५८ वटा भेडा, ६० वटा भेडाबाख्रा संयुक्त, २३ वटा बंगुर र ३५ वटा कुखुरा फार्म सञ्चालनमा रहेका छन् । ब्यवसायीक पशुपालनतर्फ युवायुवती र बिदेशबाट फर्कीएकाहरुको संलग्नता बढ्दो छ । बिदेशबाट फर्कीएर पशुपालन गर्ने कृषकहरुको संख्या जिल्लामा १५९ जना रहेको छ । बिदेशमा गर्ने श्रम र पसिना आफ्नो गाउँठाउँमा उपलब्ध स्रोत साधनमा परिचालन गर्न सकेमा बिदेश सरह आम्दानी गर्न सकिने जिल्ला बाख्रापालक कृषक संघका अध्यक्ष धनबहादुर श्रीसले बताउनुभयो ।
‘बिदेशमा तलब राम्रै पाएपनि दुख धेरै, बचत कम हुन्छ’ बहराईनबाट फकीएर दुई वर्षअघि भकीम्ली ५ डाँडाँखानीमा श्रीस बहुउद्देश्यिय कृषि फार्म स्थापना गरेका श्रीसले भन्नुभयो ‘पशुपालनलाई ब्यवसायीक र ब्यवस्थित बनाउन सके वर्षमा दुईचार लाख कमाउन बिदेश गैरहनुपर्दैन् ।’ म्याग्दी जिल्ला पशुजन्य उत्पादनका हिसावले आत्मनिर्भर उन्मुख बनेको छ । ब्यवसायीक पशुपालन बढ्नु, परम्परागत रुपमा गरिदै आएको पशुपालन ब्यवसायीक बन्नु तथा सडक र सञ्चार सुबिधाको विस्तारले दूध, मासु र अण्डा उत्पादन उकालो लागेको छ ।
जिल्लाको आन्तरीक उत्पादन बृद्धी भएपछि आयात घट्दै गएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाई बताउनुहुन्छ । ‘दुई वर्ष पहिले नेपालगञ्ज र बिरगञ्ज हुदै भारतीय खसीबोका मासुका लागि आयात हुन्थ्यो’ चापागाईले भन्नुभयो ‘अहिले दसै तिहारमा मुस्ताङबाट ल्याइने भेडाच्याङ्ग्रा बाहेक तराईका जिल्ला र भारतबाट खसीबोका आयात भएको छैन् ।’
ग्रामिण सडक र मोवाईल लगायत सञ्चार सुबिधाको विस्तारका कारण ब्यापारीहरु खसीबोका किन्न कृषकको घरदैलोमा पुग्ने गरेका छन् । स्वच्छ हावापानी, स्वस्थ्य आहरा र राम्रो स्याहरसुसार गरेर पालीएका खसीबोकाको मासु स्वादीलो र गुणस्तरीय हुने भएकाले बजारमा राम्रो खपत हुन्छ । आर्थिक वर्ष २०७०७१ को तुलनामा २०७१७२ मा दूध, मासु, अण्डा, उन र छाला उत्पादन क्रमश ०.०५, ०.५०, ०.२७, ३.२१ र १.२४ प्रतिशतले वृद्धी भएको छ । म्याग्दीमा वार्षिक ५२ लाख ६६ हजार लिटर दूध, १८ लाख, पाँच हजार ६३० केजी मासु र तिस लाख २९ हजार ९८० गोटा अण्डा उत्पादन हुन्छ । एक लाख १३ हजार ६४१ जनसंख्या रहेको म्याग्दी प्रतिव्यक्ति वार्षिक ५७ लिटर दूध आवश्यक पर्नेमा ४७ लिटर र ४८ गोटा अण्डा आवश्यक पर्नेमा २७ गोटा आन्तरीक उत्पादनले पुग्ने गरेको छ । प्रतिव्यक्ति वार्षिक १४ किलोग्राम मासु उपभोग भए पुग्नेमा मासुको खपत प्रतिव्यक्ति एक किलो बढी हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्