बहशमा काँग्रेस अधिवेशन ः यूवाको उम्मेदवारी पुराना नेतालाई चुनौती
विकल्प न्यूज/बेनी
माघ २३ गते ।
नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा यूवाको उम्मेदवारीले पुराना नेताहरूलाई चुनौती दिएको छ । नेतृत्वमा आउन युवाले इच्छा देखाएपछि वर्षौ सम्म पद ओगटेर वसेका काँग्रेस नेताहरुलाई भने कठिन पर्ने देखिएको छ । सहमति गरेर वर्षौ सम्म पदमा रहेका काँग्रेसका पुराना एवम् पाका नेताहरुलाई यसपाली भने त्यो संभावना देखिदैन ।
अव पुरानो तरिकाले पाटी चल्न सक्दैन, काँग्रेस युवा नेता एवम् महाधिवेशन प्रतिनिधिका उम्मेद्वार धनवहादुर छन्त्यालले भने ‘युवालाई सम्मानजनक स्थान दिनुपर्दछ । हरेका तहमा साठी र चालिसको अनुपातमा संगठन निर्माण गर्नुपर्दछ ।’ सधै पुराना नेताहरुले पद ओगटेर वस्ने हो भने युवाले कहिले अवसर पाउने ? उनले प्रश्न गरे । युवाले पाका नेतालाई सधै सम्मान गरेका छौ उनले भने ‘अव युवा र पाका नेताको समायोजनबाट पाटी सञ्चालन गर्नुपर्दछ ।’
अघिल्ला अधिवेशनमा नेताहरूको प्रचारप्रसारमा केन्द्रित हुने यूवाहरू यसपटक जिल्ला र केन्द्रमा प्रतिनिधित्व गर्ने गरी धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि सहमतिको सम्भावना न्युन देखिन्छ । यस अघिका अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गरिएपनि यसपटक भने त्यो संभावना कम देखिन्छ । महाशिवेशन प्रतिनिधि लगायत जिल्ला कार्यसमितिमा पनि युवाहरुले दावी गरेका छन् ।
तर पुराना नेताहरु भने काँग्रेसको नेतृत्वमा परिपक्क नेताको खाँचो हुने बताउँछन् । युवाहरुलाई पुरै नेतृत्व सुम्पीदा पाटीमा समस्या आउने उनीहरुको तर्क छ ।
जिल्ला सभापति सहित १२ जना महाधिवेशन प्रतिनिधि मध्ये खुल्लातर्फ सभापति बाहेक ६ जनाको कोटामा चारजना यूवाले उम्मेदवारी दिएका छन् । तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, सचिव ध्रुवराज कार्की, नेविसंघ म्याग्दीका सभापति भरत रकाल, पुर्व अध्यक्ष धनबहादुर छन्त्यालले उम्मेदवारी दिएर प्रचारप्रसारमा जुटिसकेका छन् । त्यस्तै जिल्ला कमिटीको सचिवमा यूवा ओम छन्त्यालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका सबैजसो यूवाहरू ग्रामिण क्षेत्रमा लोकप्रिय छन् । जिल्ला कार्यसमितिमा समेत करिव ४० प्रतिशतको हाराहारीमा यूवाले उम्मेदवारी दिने संकेत देखिएको छ ।
अधिवेशनमा कार्यसमिति सदस्यमा आउन अनुरोध गरेका यूवाहरू नै खुल्लाबाट महाधिवेशन प्रतिनिधि बन्ने घोषणा गरेपछि सहमतिबाट केन्द्रमा जाने नेताहरूको योजना चकनाचुर भएको छ । जिल्लामा लामो समयसम्म पार्टीको राजनीतिका सक्रिय भएपनि कार्यकर्ता माझ लोकप्रिय नभएका नेताहरूले संस्थापन र देउवा पक्षको सहमतिबाट महाधिवेशन प्रतिनिधिमा जाने दाउ बनाएका थिए । त्यस्तै महासमिति सदस्यका ५ जनामा समेत यूवाहरूले रूचाईएका नेताहरू पर्ने सम्भावना रहेको छ ।
केही यूवाले उम्मेदावरी भन्दा पनि निर्वाचनमा आफ्नो पक्षका नेतालाई विजय बनाउन सकेमा जिल्ला कार्यसमितिमा ढोका खुल्ला हुने भएकाले पनि प्रचारप्रसारमा केन्द्रित छन् । शनिबार सम्म नेताहरू संस्थागत भन्दा पनि ब्यक्तिगत रुपमा आफ्नो पक्षमा भोट मागिरहेका छन् । दुईपक्षिय भिडन्त हुने भएकाले पनि प्यानलमा नपर्ने सम्भावना भएकाले आफ्ना् पक्षमा भोट माग्दै हिडेका छन् । यूवा पछाडी नहटे चुनावमा सहभागि हुनुपर्ने भएकाले पनि अझै सहमतिबाटै अगाडी बढ्ने दाउमा समेत केही नेताहरु देखिएका छन् ।

नेतृत्व लिने तर जिम्मेबारी अनुसार काम नगर्नेलाई यसपटक गाउँबाटै प्रतिििनधमा आउन निकै हम्मेहम्मे परेकाले पनि त्यसको असर जिल्ला अधिवेशनमा समेत देखिने सम्भावना रहेको छ । ‘अव जसले काम गर्छ उसले नेतृत्वमा दावी गर्छ’ यूवा विक्रम बोगटीले भने । उनले यूवाको सक्रियता र सहभागिता भएपनि नेतृत्वमा पुगेकाले अवसर र स्वार्थमा केन्द्रित भएकाले पार्टीले निर्वाचन देखि धेरै ठाउँमा पराजित हुनुपरेको बताए । अधिवेशनमा नेत्रबहादुर महत र खम्बीर गर्बुजाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्