प्रेस चौतारीको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
प्रताप बानियाँ /विकल्प
म्याग्दी, माघ २२ गते ।
प्रेस चौतारी नेपालले शुक्रबार आफ्नो १८औं स्थापना दिवस देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिका–९ गलेश्वरधामस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण गरी दिवस मनाएको हो ।
म्याग्दी शाखाले ज्येष्ठ नागरिकलाई लक्षित गरी दैनिक उपभोग्य सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको जनाएको छ । चौतारीमार्फत १ बोरा चामल, ५ केजी दाल, १ प्याक खानेतेल, ५ केजी चिनी, २ प्याकेट पोकानुन, सिमी, आलु र काउली गरी पाँचपाँच केजीका दरको झण्डै ५ पाँचहजार पाँचसय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।
उक्त सामाग्रीहरु गलेश्वर अन्नदान क्षेत्रका अध्यक्ष पण्डित भीमनाथ पराजुली, उपाध्यक्ष खगराज पोख्रेल र ज्येष्ठनागरिक वृद्धाश्रमका उपाध्यक्ष बमबहादुर पुनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, पत्रकार महासंघका अध्यक्ष सुरत केसी र प्रेस चौतारीका अध्यक्ष मालती खत्रीले हस्तान्तरण गरेका थिए ।
सामान हस्तान्तरणपछि बोल्दै प्रमुख अतिथि केसीले पत्रकारको संस्थाले ज्येष्ठनागरिकलाई गरेको सहयोग सराह्रनीय भएको बताए । उनले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई अन्य संघसंस्थाले पनि रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सुरत केसीले पत्रकारहरुले गरेको सहयोग रचनात्मक भएको बताउँदै सहयोगको सही रुपमा सदुपयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अन्नदान क्षेत्रका अध्यक्ष पण्डित पराजुलीले वृद्धाश्रम र अन्नदान क्षेत्रको बारेमा बोलेका थिएभने क्रान्तिकारी पत्रकार संघ म्याग्दीका अध्यक्ष कमल खत्रीले शुभकामना मन्तव्य राखेका थिए । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष मालती खत्रीको अध्यक्षता तथा स्वागत र सचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्येष्ठनागरिक वृद्धाश्रमका कोषाध्यक्ष गौमाया गर्बुजा, अन्नदान क्षेत्रका भद्रा गिरी र ज्येष्ठ नागरिकलगायतको सहभागीता रहेको थियो
प्रतिक्रिया राख्नुहोस्