चितुवा मार्ने कार्यमा संलग्न विरुद्ध मुद्दा दर्ता
विकल्प न्यूज /बेनी
माघ १९ गते ।
वन कार्यालय म्याग्दीले चितुवाको छाला सहित पक्राउ परेका व्यक्ति विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।
माघ ९ गते चितुवाको छाला, अंग र चितुवा मार्न प्रयोग भएको पासो सहित हिस्तान ९ दोसल्लेबाट पक्राउ परेका हिकबहादुर पुर्जा विरुद्ध सोमबार जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको हो ।
पुर्जा विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसारको कसुर गरेको अभियोग लगाई मुद्दा दर्ता गरेको सहायक वन अधिकृत लोमनाथ तिम्सिनाले जानकारी दिनुभयो । आरोप ठहर भएमा दुई वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
प्रहरीले पुर्जालाई पक्राउ गरेर वन कार्यालयलाई बुझाएको थियो । उनको साथबाट बरामद भएको छाला, पासो र अंगहरु वन कार्यालयमै रहेको छ । यसैबीच अर्मन २ दोवाङमा वन्यजन्तुको चोरी शिकारीमा संलग्न भएका बेलबहादुर खत्रीको खोजीलाई तिब्र पारिएको छ ।
खत्रीको घरबाट माघ १२ गते प्रहरीले घोरलको दुई वटा छाला, आलो मासु र एक थान भरुवा बन्दुक बरामद गरेको थियो । प्रहरी र वन कार्यालय मार्फत फरार खत्रीको खोजीलाई तिब्र पारिएको सहायक वन अधिकृत तिम्सिनाले बताउनुभयो । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्