म्याग्दी अस्पतालमा गुणस्तरीय सेवा प्रवाहमा योगदान गर्ने कर्मचारीलाई सम्मान
सन्तोष गौतम/विकल्प
म्याग्दी १६ माघ ।
म्याग्दी जिल्ला अस्पतालले विभिन्न रोगहरुको शल्यक्रिया सहितको सेवा उपलब्ध गराउन थालेपछि जिल्लाबासीलाई राहत मिलेको छ ।
बेनीमा रहेको अस्पतालले जटिल प्रसुती, हाईड्रोशील, हर्नीया, एपेन्डीसाईट्स लगायत रोगको शल्यक्रिया सहितको सुबिधा दिन थालेपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ ।
जिल्लामै शल्यक्रिया सेवा पाएपछि गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र आर्थिकको बचत भएको हो । अस्पतालमा हालसम्म ५६ जना जटिल किसीमका अप्रेशन भैसकेको चिकित्सक धिरेन्द्र मल्लले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेका अनुसार प्रसुती बाहेक हाईड्रोशिल, हर्नीया, एपेन्डीसाईट्सका मासिक एक सयको हाराहारीमा शल्यक्रिया भैरहेको छ । यसैबीच जिल्ला अस्पताल म्याग्दीले गुणस्तरीय सेवा प्रवाहमा योगदान गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई मासिक रुपमा सम्मान गर्न थालेको छ ।
राम्रो काम गर्नेलाई प्रोत्साहन र सम्मान गरि उत्प्रेरीत गर्न विभिन्न बिधामा मासिक पाँच जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्न सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।
पहिलो चरणमा शुक्रबार रेडियोग्राफर सुन्दरी गिन्देल मगर, स्टाफ नर्स झरना बानिया, एनएसथेसीया सहयोगी अमर मर्हजन, सिनियर अहेव तुलसी आचार्य र कार्यालय सहायक गजदेवी बिकलाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया राख्नुहोस्