शैक्षिक सामाग्रि बांडेर जन्मदिन
विकल्प न्यूज/पर्वत
माघ १४ गते ।
आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक यूवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
मुडिकुवा ६ श्रीसुवामा २०४५ सालमा जन्मिएर विगत केहि वर्षदेखि सदरमुकाम कुश्मामा बस्दै आइरहेका अच्यूत तिवारीले आफ्नो २७ औं जन्म दिन बालबालिकाहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेर मनाएका हुन् । आफ्नो जन्मगाउँकै मुडिकुवा ७ चुरीमा रहेको बाल प्राथमिक विद्यालयमा अध्ययनरत ३६ जना बालबालिकाहरुलाई करिव ५० हजार रुपियाँ बराबरका शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन् ।

कुश्माको एकता युवा क्लवका अध्यक्ष समेत रहेका तिवारीले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिलेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख जिल्ला इन्जिनियर रबिन्द्र तिवारीले अनावश्यक खर्च गर्ने समाजका बिचमा अच्यूतले गरेको सामाजिक काम अरुका लागि समेत प्रेरणादायि भएको बताउनुभयो । तिवारीले सामाजिक काममा यूवाहरुको सक्रियताले अरु क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका प्रधानअध्यापक शंकरदेब गौंडेलले विद्यार्थीहरुका लागि यो अहिलेसम्मकै ठुलो सहयोग भएको भन्दै नियमित विद्यालय आउन हौसला मिल्ने बताउनुभयो ।
शिक्षक कुलप्रसाद लामिछानेले बालबालिकाहरुका लागि गरिएको यो सहयोगले उनिहरुका पढाइमा एक वर्ष सम्म हौसला मिल्ने बताउनुभयो । अकौ शिक्षक छबि तिवारीले यूवाहरुले गरेको सामाजिक काम अरु व्यक्तिहरुका लागि पनि प्रेरणादायि हुने बताउनुभयो ।
कार्यक्रमका अवसरमा जिल्ला शिक्षा कार्यालयको शंकरपोखरी स्रोत केन्द्रका स्रोत व्यक्ति ढकप्रसाद तिवारी, नेपाली कांग्रेस पर्वत काठमाण्डौं सम्पर्क समितिका संयोजक शैलेन्द्र गौंडेल, स्थानीय समाजसेवी यूवा दिनेश लामिछाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सर्वजित विश्वकर्मा, लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कुलप्रसाद तिवारीले गर्नुभएको थियो । अगन्धर तिवारी/पर्वत
प्रतिक्रिया राख्नुहोस्