म्याग्दीमा इलाका स्तरीय योजना छनौट
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ११ गते ।
म्याग्दीको भगवती, पाखापानी र दरवाङमा मंगलबार ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
गाविस परिषद्बाट जिल्ला तथा केन्द्रिय स्तरमा माग भई आएका योजनाहरुको प्राथमिकीकरण गर्न जिविसको आयोजनामा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको हो ।
भगवतीमा भएको ईलाका गोष्ठिमा भगवती, बेग, दग्नाम र चिमखोला गाविसबाट माग भएका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गरि विषयगत समितिमा लैजाने निर्णय भएको छ ।
जिविसका सूचना अधिकृत पदम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भगवतीका सचिव बलराम पौडेल, दग्नाममा भोलानाथ आचार्य, बेगका दलबहादुर थापा र चिमखोलाका जितबहादुर सुनारले योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी सोमबारनै दरवाङ र पाखापानीमा पनि ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको जिविसले जनाएको छ । दरवाङमा सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य र पाखापानीमा स्थानीय विकास कोषका कार्यकारी सचिव राजेन्द्र आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिविसका सबईञ्जिनियर बालकृष्ण शर्माले सञ्चालन गर्नुभएको पाखापानीको गोष्ठिमा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, जिविस अन्तरगतको आदीवासी जनजाती समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
ईलाका नम्बर ९ मा पर्ने पाखापानीका सचिव हुमनारायण देवकोटा, कुईनेमंगलेका भिष्म थापा, मल्कवाङका वुद्धीप्रसाद शर्मा र झिँकी तेजकुमारी थापाले गाविसबाट माग भएका योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
दरवाङको गोष्ठिमा ईलाका नम्बर ७ र ८ मा पर्ने बाबियाचौर, ओखरबोट, रुम, निस्कोट, दरवाङ, बरंजा, कुहु र अर्मन गाविसका सचिवहरुले माग भई आएका योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । ईलाका गोष्ठिबाट सडक, विद्युतीकरण, खानेपानी, सिचाई, भवन, कृषि, पशुपालन, आयआर्जन, क्षमत्ता तथा नेतृत्व विकास सम्बन्धि योजना तथा कार्यक्रमहरुको माग गरेका छन् ।
ईलाका गोष्ठिमा सहभागि हुन आएका विभिन्न गाविसका प्रतिनिधिहरुले राजनितिक पहुँच र भनसुनको भरमा योजना छनौट गरिदा आफूहरुको माग सुनुवाई नभएको गुनासो गरेका थिए । गोष्ठिमा सम्बन्धित गाविसका राजनितिक दल, सरकारी कार्यालय र गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यता बेनी नगरपालीका कार्यालयले नगरपालीकाका दलीय प्रतिनिधिलाई जानकारी नगराउँदा आईतबार रोकीएको ईलाका नम्बर १, २ र ३ को गोष्ठि सोमबार सकिएको छ । नगरपालिकाको कमजोरीले एकै दिनमा सकिने कामका लागि दुई दिन समय लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्