म्याग्दीलाई वन अतिक्रमणमुक्त बनाउन अभियान थालनी गरिने
विकल्प न्यूज/बेनी
माघ ७ गते ।
जिल्ला वन कार्यालय म्याग्दीले जिल्लाभर वन अतिक्रमणमुक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालय अन्तर्गत रहेका ८ ओटा इलाका बन कार्यालय मार्फत वन अतिक्रमणमुक्त अभियान सञ्चालन गरिने भएको हो ।
वन क्षेत्रलाई विभिन्न वाहनामा व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएकाले संरक्षणका लागि अभियानको थालनी गरिने जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा जिल्लाका राजनीतिक दल र अन्य सरोकारवाल निकायहरुको सहभागितामा वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलको विहिवार वसेको वैठकले समुदाय र सामुदायिक वनका उपभोक्ताहरुलाई परिचालन गरेर जिल्लाभर वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान थालनी गर्ने निर्णय गरिएको जिल्ला वन अधिकृत सुखलाल प्रसाद जयसवालले जानकारी दिनुभयो ।
यसअघि इलाका वन कार्यालय बाबियाचौरले जनसहभागितामा आधारित वन अतिक्रमण हटाउने कार्यक्रम सुरु गरेको थियो । अभियानका क्रममा अहिले सम्म ३८०.७ हेक्टर अतिक्रमित वन मुक्त बनाई समुदायमा हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो । दशकौ देखि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर सामुदायिक वन उपभोक्ता समूह गठन गरी वृक्षरोपण गरिएको उहाँले बताउनुभयो । वैठकमा सहायक वन अधिकृत सापकोटाले स्थानीयस्रतमा समुदायको सहभागितामा अतिक्रमण मुक्त कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने बताउनुभयो । वैठकमा राजनीतिकदलका प्रतिनिधिहरुले अभियानलाई प्रभावकारी ढङगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्