आकस्मीक उपचारको पुर्वअभ्यासले बेनीमा सनसनी (फोटोसहित)
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ५ गते ।
मंगलबार दिउँसो २ बजे बेनीमा आकस्मीक रुपमा एम्बुलेन्स र प्रहरीले आपतकालीन साईरन बजाउदै ओहोर दोहोर गरेको देखेर बजारबासी आत्तिए ।
बेनी बजार नजिकैको महारानीथानमा माईक्रोबस दुर्घटना भएको खबर एकै छिनमा बजारभरी फैलीयो । प्रहरी, यातायात ब्यवसायी र बजारबासी हतार, हतार महारानीथानतिर दौडीए । दश मिनेटमै महारानीथानमा सर्वसाधारणको भिड लाग्यो ।
एकातर्फ बजारबासी र सुरक्षाकर्मी उद्धारका सामाग्री लिएर महारानीथानतर्फ जादै थिए भने अर्कोतर्फ त्यहाँबाट रगताम्मे बनेका बिरामीहरु बाकेर एम्बुलेन्स बजारतिर कुदीरहेका थिए ।
झट्ट देख्दा र सुन्दा ठूलै दुर्घटना भएको अनुमान गरीएपनि वास्तवमा त्यो दुर्घटना नभएर जिल्ला अस्पतालमा आपतकालीन उपचारको पुर्वअभ्यास थियो । वास्तवीक कुरा सर्वसाधारणले घटनास्थल भनिएको ठाउँमा पुगेर मात्र थाहा पाए ।
ईमरजेन्सी कक्ष र परिसरको खाली ठाउँमा बेड राखेर करिब ५० जनाको उपचार गराइरहँदा अस्पतालमा सर्वसाधारणको ठेगीनसक्नुको भिड लागेको थियो । साँच्चीकै नभएर आपतकालीन उपचारको अभ्यासका लागि काल्पनीक रुपमा गराइएको दुर्घटनाको सर्वसाधारणलाई मात्र होईन अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीहरुलाई पनि पुर्व जानकारी थिएन् ।
आपतकालीन उपचार सेवालाई प्रभावकारी बनाउन यस्तो पुर्व अभ्यास गरिएको जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आपतकालीन अवस्थामा व्यवस्थित र प्रभावकारी रुपमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा देशका सबैजसो अस्पतालमा यस्तो अभ्यास हुने गरेपनि म्याग्दीमा भने पहिलो पटक हो ।
पुर्वअभ्यास पश्चात अस्पतालको आपतकालीन उपचार अवस्थाको बारेमा वास्तवीकता पहिचान हुने र आगामी दिनमा सुधार गर्न सहयोग मिल्ने अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्