‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ५ गते ।
पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले ‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
म्याग्दीको बेनीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री पुनले सफा र स्वस्थ्य मासु उपभोग गर्ने वातावरण तयार गरि जनस्वास्थ्यमा सुधार ल्याउनका लागि मन्त्रालयले यस्तो अभियान सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
‘पशु बधगर्ने स्थल, मासु पसल देखि उपभोक्ताले उपभोग गर्ने तरीका स्वस्थ्य र सफा हुन जरुरी छ’ राज्यमन्त्री पुनले भन्नुभयो ‘सफा र स्वस्थ्य मासु उपभोग गर्ने अवस्था भएमा मात्रै धेरै रोगहरु न्युनीकरण गर्न सहयोग पुग्ने मात्र होईन नेपालमा उत्पादीत मासुको अन्तराष्ट्रिय बजार बिस्तार हुन सक्छ ।’
अभियान सञ्चालनका लागि मन्त्रीस्तरमा निर्णय भएर कार्यबिधी तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बधशाला र मासु पसल सुधार गर्न राजधानीमा मन्त्रालयको उच्च स्तरीय टोली र जिल्लामा पशु सेवा कार्यालयको नेतृत्वमा नियमित अनुगमन संयन्त्र तयार गर्न लागिएको छ ।
‘अनुगमन र जनचेतना अभिवृद्धी गर्न प्रचारप्रसारलाई जोड दिने सोचेका छौ’ पुनले भन्नुभयो । राज्यमन्त्री पुनले नेपालमा उत्पादीत मासु र दुग्धजन्य बस्तुको बजार प्रर्वद्धनका लागि सबैभन्दा पहिले स्वस्थ्य उत्पादनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्