आज देखि बेनीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो)
विकल्प न्यूज/बेनी
म्याग्दी माघ ५ गते । बेनीमा आज देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७२ सुरु भएको छ । पश्चिमाञ्चलमा यसवर्षको राष्ट्रपति शिल्ड प्रतियोगिता आयोजना गर्ने म्याग्दी पहिलो हो ।
जिल्लाको खेल प्रतिभाको पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्न अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा एथलेटिक्स, भलिबल र तेक्वान्दो तथा कराँते बिधाका खेलहरु खेलाईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा ४३ विद्यालयको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रमको उद्घाटन गर्नुपूर्व विभिन्न झाँकी सहित सहभागि विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
प्रतियोगिताको पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै राज्य मन्त्री पुनले खेलकुद क्षेत्रमा पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरका बालबालिकाहरुको खेलकुद प्रतिभाको प्रष्फुटन गर्नमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस्तै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रमा पूर्वाधारको अभावले गर्दा नेपालले सोचे जस्तो खेलकुदको विकास गर्न नसकेको बताउनुभयो । अध्यक्ष पौडेलले राज्यले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता उपाध्यक्ष शोभन श्रेष्ठको स्वागत र सञ्चालन कोषाध्यक्ष दिनेश केसीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु,प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । प्रतियोगिता १० गते सम्म सञ्चालन हुने छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य








प्रतिक्रिया राख्नुहोस्