सहश्रधारामा कृषि मेला प्रर्दशनी सुरु
सन्तोष गौतम/विकल्प
सहश्रधारा(म्याग्दी) माघ ४ गते ।
म्याग्दीको बाबियाचौर गाविस ८ सहश्रधारामा बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय, बाबियाचौर गाविस र मालिका युवा कल्वले आयोजना गरेको प्रर्दशनी मंगलबारसम्म रहने जनाइएको छ । मेलामा खाद्यान्न, दलहन, तरकारी, आलु, फलफुल, माछा र बिबिध समूहका बालीहरुको प्रर्दशनी गरिएको छ ।
बेनी नगरपालीकाको साथै बाबियाचौर, अर्मन, कुहुँ, दरवाङ, निस्कोट, ओखरबोट, देविस्थान लगायत गाविसका डेढ सय जना भन्दा बढी कृषकहरुले प्रर्दशनीमा सहभागिता जनाएका छन् । सुन्तला, कागती, बन्दा, काउली, गोलभेडा, सिमी, बोडी, भटमास, च्याउ, माछा, उखु, तरुल, आलु, मुला लगायत विभिन्न जातका बालीहरुको प्रर्दशनी गरिएको छ ।
कृषकहरुले आफूले उत्पादन गरेको उत्कृष्ट बाली प्रर्दशनीका लागि ल्याएका छन् । कृषकमा प्रतीस्पर्धी भावनाको विकास गराउने र प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।
काम ग¥यो भने राम्रो उत्पादन र आम्दानी लिन सकिन्छ भन्ने सम्भावना उजागर गर्नुका साथै श्रम गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रर्दशनी प्रभावकारी बनेको अधिकृत रिजालको भनाई छ । प्रर्दशनीबाट कृषकहरुबीच ज्ञान, सिप र अनुभव आदानप्रदान हुने अवसर मिल्ने अर्मन १ का कृषक केशबहादुर फगामीले बताउनुभयो ।
तरुल र सुन्तला प्रर्दशनी गर्न ल्याएका कृषक फगामीले ग्रामिण क्षेत्रका कृषकलाई लक्षित गरेर आयोजित प्रर्दशनी आफूहरुका लागि उपयोगी भएको बताउनुभयो । आफ्नो उत्पादन अरुलाई देखाउन र अरुले गरेका राम्रा काम सिक्ने अवसर प्रर्दशनीले जुराएको कृषक फगामीको भनाई छ । प्रर्दशनीमा कृषि प्रबिधि र रोग किरा नियन्त्रण सम्बन्धि कृषकहरुलाई परामर्श सुबिधा पनि दिइएको छ ।
प्रर्दशनीमा सहभागि उत्कृष्ट कृषकहरुलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । सात वटा बिधामा प्रथम, दितृय, तितृय र सान्तवना हुने कृषक छनौट गरि पुरस्कृत गरिने बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश नगद एक हजार, सात सय, पाँच सय र तिन सय रुपैया नगदका साथै प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसअघि सदरमुकाम बेनीमा कृषि मेला प्रर्दशनी हुदै आएकोमा पछिल्लो समय ग्रामिण क्षेत्रमा प्रर्दशनी हुन थालेको छ । गत वर्ष बेनीका साथै बाबियाचौर र बिममा पनि कृषि मेला प्रर्दशनी गरिएको थियो ।


प्रतिक्रिया राख्नुहोस्