म्याग्दीमा पलान नेपालको बइमानी पूर्ण कार्य, महिला सहकारीको भवन निर्माण कार्य अलपत्र
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ३ गते ।
दातृ संस्थाले प्रतिवद्धता गरेको आर्थिक सहयोग उपलब्ध नगराउँदा म्याग्दीमा महिला सहकारी संस्थाको भवन निर्माण योजना अलपत्र परेको छ ।
दाताले भवन बनाईदिने आशामा जग्गा खरिद गरेका सहकारीहरुले सहयोग नपाएपछि लाखौ लगानी डुवेको छ । पलान ईन्टरनेशनल नेपालले म्याग्दीको बाबियाचौर र दरवाङ स्थित महिला सहकारीको भवन निर्माणका लागि आर्थीक सहयोग गर्न गरेको सम्झौता कार्यान्वन नहुँदा योजना अलपत्र परेको हो ।
वि.स २०७१ मा पलान नेपालले बाबियाचौरको जनआदर्श महिला विकास र न्यु दरवाङ महिला विकास सहकारी संस्थालाई भवन निर्माणका लागि दशदश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौता गरेको थियो । सन २०१५ सम्ममा आर्थिक सहयता उपलब्ध गराउने प्रतिवद्धता जनाएको उक्त संस्थाले अहिलेसम्म एक रुपियाँ पनि दिएको छैन् । दाताले बेईमान गर्दा भवन निर्माण कार्य अलपत्र पर्नुका साथै सहकारीको अनावश्यक क्षेत्रमा लाखौ लगानी डुवेको जनआदर्श महिला विकास सहकारीका प्रबन्धक रुपादेवी बिकले बताउनुभयो । भवन निर्माणका लागि उक्त संस्थाले २०७१ भदौमा १२ लाख रुपैयाँ लगानी गरेर जग्गा खरिद गरेको थियो भने थप चार लाखमा भवन बनाउन डिपीसी सम्मको काम गरेको थियो ।
१६ लाख रुपैया फसेकाले लगानी गर्ने पुँजी अभाव भएको र दाताले पैसा नदिएपछि योजना पनि अलपत्र परेको प्रबन्धक बिकले गुनासो गर्नुभयो । पलान नेपालले छिटो जग्गा खरिद गरेमा भवन बनाउन आर्थिक सहयोग गर्ने लोभ देखाएपछि दरवाङको न्युन दरवाङ महिला विकास सहकारी संस्थाले पनि २०७१ भदौमा सात लाख २० हजार रुपैयाँ मूल्य बराबरको जग्गा खरिद गरेको थियो ।
संस्थाकी पदाधीकारी गौमती चपाईले ६० प्रतिशत छुटमा जग्गा उपलब्ध गराउनुभएको थियो । पलानले अनुदान नदिएपछि गाविस कार्यालयले भवन निर्माण गर्न गत वर्ष बिनियोजन गरेको ४७ हजार रुपैयाँ फिर्ता भएको अध्यक्ष याममती रोकाले बताउनुभयो । उहाँका अनुसार भवन बनाउन भनेर संस्थाका सदस्यहरुले देउसीभैलो खेलेर एक लाख १९ हजार ५०० र वृतचित्र प्रर्दशन गरेर ३८ हजार रुपैया संकलन गरेका थिए ।
पलान नेपाल क्षेत्रीय कार्यालय बागलुङकी निमित्त प्रमुख नितु आचार्यले भुकम्प गएपछि प्रभावित जिल्लामा बजेट केन्द्रित गर्नु परेकाले म्याग्दीका साथै बागलुङ र पर्वतका महिला सहकारी संस्थाहरुलाई भवन निर्माण गर्न उपलब्ध गराउने भनिएको बजेट कटौती भएको प्रतिक्रिया दिनुभयो ।
अहिले भवन बनाउन सहयोग गर्न नसकेपनि अर्को चरणको परियोजना मार्फत ति महिला सहकारीहरुलाई सहयोग गर्ने आचार्यले बताउनुभयो । सहकारीका पदाधीकारीहरुले भने बैशाखमा गएको भुकम्पलाई बहाना बनाएर पलान नेपालले बेईमानी र सहयोगको लोभ देखाएर सहकारीलाई डुवाउने काम गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्