बेनीमा परम्परागत माघे संक्रान्ति मेला सम्पन्न, लोक नृत्य प्रतियोगीतामा राजकुमार परियार बिजयी
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ २ गते ।
म्याग्दीको बेनीमा आयोजित परम्परागत माघे संक्रान्ति मेला शनिबार सम्पन्न भएको छ ।
माघे संक्रान्तिमा बेनीमा लाग्दै आएको परम्परागत मेलाको जगेर्ना र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालित मेलामा खुल्ला नृत्य, लठो तान्ने, अन्धनिशान, छेलो फाल्ने प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले मेलाको आयोजना गरेको हो । सो अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगितामा धवलागिरी जनयुवा कल्व ताकमको तर्फबाट सहभागि राजकुमार परियार प्रथम र बेनपा ६ की फुलु पुन द्धितृय भएका छन् ।
यसैगरी पुनम सेञ्चुरी, विश्व पुन र न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको समूह सान्तवना भएका छन् । प्रथम, दितृय र सान्तवना हुनेले क्रमश नगद १५ हजार, सात हजार र एकएक हजार रुपैया पुरस्कार प्राप्त गरेका समितिकी महासचिव लक्ष्मी कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै मेलाको अवसरमा आयोजित लठो तान्ने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको ईन्द्रबक्स गण र महिलातर्फ छन्त्याल महिला संघ बिजयी भएका छन् । उनिहरुले नगद छछ हजार रुपैयाँ पुरस्कार जितेका छन् । अन्धनिशानमा जगन्नाथ शर्मा बिजयी हुदै नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
छेलो फाल्ने प्रतियोगितामा पुरुषतर्फ कृष्ण कार्की र महिलातर्फ तिलदेवी गर्बुजा बिजयी हुदै नगद एकएक हजार रुपैया पुरस्कार जित्नुभएको आयोजकले जनाएका छन् । विगतमा प्रत्येक तिन वर्षमा महोत्सव र प्रत्येक वर्ष सडक खाना महोत्सव आयोजना गरिदै आएकोमा देशको असहज अवस्थाका कारण यस वर्ष परम्परालाई निरन्तरता दिनका लागि मात्रै मेलाको आयोजना गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्