बेनीमा माघेसंक्रान्ति पर्वको रौनकता
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,माघ १ गते ।
यहाँका मगर समुदायले माघेसक्रान्ति पर्वलाई भव्य तरिकाले मनाएका छन् । जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्यौली नृत्य, सालैजो, भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसक्रान्ति पर्व मनाएका हुन । माघे संक्रान्ति पर्वलाई मगर समुदायमा ठूलो चाँढका रुपमा लिइन्छ ।

जनजातिहरुको बाहुल्यता भएको म्याग्दीमा मगर समुदायले माघे संक्रान्ति पर्वलाई साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएका छन् ।
मगर भेषभूषामा सजिएका युवा युवती र वुढापाकाहरु सहतिको ¥यालीमा सालैजो भाका सँगै युवा युवती र वुढापाकाहरु छमछमी नाचेका थिए ।
माघे संक्रान्तिका अवसरमा बेनीमा मगर जातिको विशेषता झल्कने भेषभूषा, खानपान तथा साँस्कृतिक कार्यक्रमहरु भएका छन् । मगर संक्रान्तिका रुपमा चिनिदै आएको माघे पर्वको अवसरमा सुभकामना आदान प्रदान लगायत जातीय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीले बजार परिक्रमा गरेको थिए ।

उनीहरुले मगर समुदायमा लोपन्मुख सोरठी,पुख्र्यौली र मारुनी नृत्य देखाएका थिए । मगर समुदायले प्रकृतिको पुजा गर्दै हर्षउल्लासपुर्वक माघे संक्रान्ति पर्व मनाएउने गर्दछन् । मगर समुदायले माघे संक्रान्तिलाई प्राकृतिक रुपमा नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।
माघमा बर्खा र साउनमा हिउँदको सुरु भएको संकेतका रुपमा लिने मगर समुदायले माघे संक्रान्तिमा एक आपसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतीक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको मगर संघ म्याग्दीका अध्यक्ष मुक्ति रोकाले बताउनुभयो ।
प्रकृतिमा विश्वास गर्ने भएकाले परम्परादेखिनै उभौलीको रुपमा माघे संक्रान्तिमा खेतीबाली र पशुपालन राम्रो होस, रोग व्याधी नआओस, दुःखद घटना नघटुन भन्ने कामना सहित माघे संक्रान्तिमा पुजा गर्ने र देवतालाई खुसी बनाउने चलन रहेको अध्यक्ष रोकाले बताउनुभयो । मगर समुदायले मात्र मनाउँदै आएको परम्परागत माघे संक्रान्ति पर्वलाई अहिले अन्य जातिका समुदायहरुले पनि मनाउन थालेको अध्यक्ष रोकाले बताउनुभयो । कला संस्कृति र भेषभूषाको संरक्षण गर्नु युवाहरुको दायित्व हो,युवा इपिन तिलिजा मगरले भन्नुभयो ‘कला र संस्कृति संरक्षणमा युवाहरुलाई जागरुकता बनाउनुपर्दछ ।’

२०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा हाल ४७ प्रतिशत मगर समुदायको बसोबास रहेको छ । उनीहरुले माघे संक्रान्ति पर्वलाई विशेष महत्वका साथ प्रमुख चाडको रुपमा मनाउने प्रचलन रहेको छ ।
सदरमुकाम र मगर जातिको बाहुल्यता भएका ग्रामिण गाउँहरुमा बसोबास गर्ने मगर समुदायका प्रतिनिधीहरुहरुले पुख्यौली नृत्य, सालैजो, सोरठी भाकाका साथै विभिन्न लोकगित र नृत्यहरु प्रस्तुत गरेर माघे संक्रान्ति पर्व मनाएका छन् । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति भन्ने गरिएको पाइन्छ ।
प्रतिक्रिया राख्नुहोस्