ताकमका किसानको सामुहीक खेती
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ३० गते ।
म्याग्दीको ताकमका बासिन्दाले सहकारी संस्था मार्फत सामुहिक खेती गरेका छन् । ताकम ३ मा रहेको अन्नपूर्ण व्यवसायीक कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले करिब १० रोपनी जग्गा भाडामा लिएर सामुहीक आलु खेती गरेका हुन् ।
गत वर्ष जिल्ला कृषि विकास कार्यालयको सहकारी खेती कार्यक्रम मार्फत सात लाख ५० हजार रुपैयाँ विउ पुजी स्वरुप प्राप्त गरेको अनुदानलाई परिचालन गरि सामुहीक आलु खेती मार्फत आयआर्जनमा अग्रसर भएका छन् ।
सामुहीक आलु र अन्य विभिन्न जातको तरकारी तथा खाद्यान्न बालीको विउ उत्पादन गरेर आयआर्जनको साथसाथै एक अर्कामा अनुभव आदानप्रदान गरि ताकमलाई तरकारीमा नमुना गाउँको रुपमा स्थापित गराउने अभियानमा जुटेको संस्थाका सदस्य गोपाल आचार्यले बताउनुभयो ।
पछिल्लो याममा ५६ जना सेयर सदस्यले श्रमदान गरेर लगाएको आलु खेतीबाट संस्थालाई ७५ हजार रुपैया आम्दानी भएको छ । अघिल्लो याममा ९ मुरी आलु उत्पादन भएकोमा यसपाली २५ मुरी उत्पादन भएको छ ।
आलु र तरकारी बेचेर भएको आम्दानी सेयर सदस्यको खातामा आम्दानीको रुपमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया राख्नुहोस्