उत्कृष्ट देशहरु मध्य नेपाल पहिलो सूचिमा परेपछि म्याग्दीको पर्यटकीय स्थलका बासिन्दा उत्साहीत
सन्तोष गौतम /विकल्प
म्याग्दी,पुस २५ गते ।
सन २०१६ मा घुम्नै पर्ने विश्वका दश उत्कृष्ट देशहरु मध्य नेपाल पहिलो नम्बर सूचिमा परेपछि म्याग्दीका पर्यटकीय क्षेत्रका बासिन्दाहरु उत्साहीत भएका छन् ।
अमेरीकाको भ्रमण सम्बन्धि वेवसाईट रफगाईड्सले गत हप्ता नेपाललाई भ्रमणका लागि पहिलो नम्बरको सूचिमा राखेपछि म्याग्दीका पर्यटकीय क्षेत्रका बासिन्दाहरुले भुकम्प र नाकाबन्दीका कारण शुनसान बनेका पर्यटकीय स्थलमा चहलपहल आशा गरेका हुन् ।
म्याग्दीको घोडेपानी, भुरुङ तातोपानी, दाना, नांगी, नारच्याङ, टोड्के, मुदी, गुर्जा, टिकोट, शिख, घार लगायत पर्यटकीय गाउँका बासिन्दाहरु नेपाल भ्रमणका लागि सकारात्मक सन्देश प्रवाह गराउने उक्त खबरले खुसी भएका छन् ।
म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेकबाट विहानी पख देखिएको धौलागिरि हिमालको दृश्य । तस्विर /ठाकुरप्रसाद आचार्य
रफगाईड्सले युरोपीयन लगायत विश्वभर नेपाल भ्रमणका लागि सुरक्षित भएको सन्देश प्रवाह गराएकाले आगामी फागुन–चैत–बैशाखको सिजनमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको घोडेपानी होटल ब्यवस्थापन समितिका कोषाध्यक्ष शुशिल पुनले बताउनुभयो ।
गत बैशाखको भुकम्प र संबिधान जारी भएलगत्तै सुरु भएको मधेश आन्दोलन तथा नाकाबन्दीका कारण पछिल्लो दुई याममा उल्लेख्य पर्यटक आगमन हुन सकेन् । म्याग्दीमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगतका पदमार्गमा भुकम्पले असर नगरेकाले पर्यटक आगमन बढ्ने आशा जागेको कोषाध्यक्ष पुनले बताउनुभयो ।
विश्वभर नेपाल सुरक्षित र घुम्नका लागि उपयुक्त भएको सन्देश प्रवाह भएकाले थलीएको पर्यटन क्षेत्र तङ्रीने आशा गरिएको घोडेपानीका होटल ब्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । पर्यटन क्षेत्रलाई बन्द हडताल निषेध र नेपाल सुरक्षित भएको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्