बेनीमा एमालेको धौलागिरि अञ्चलस्तरीय प्रशिक्षण भेला
विकल्प न्यूज /बेनी
पुस २४ गते ।
नेकपा एमालेको एकदिने धौलागिरि अञ्चलस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेला म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेको छ । जिल्ला विकास समितिको सभाहलमा चलिरहेको प्रशिक्षण भेलामा धौलागिरिका अञ्चलका चार जिल्लाका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले जानकारी दिनुभयो ।
नयाँ संविधान निर्माण, संविधानका अन्तरवस्तु र वर्तमान राजनीतिक परिस्थितीका वारेमा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन कार्यक्रमको आयोजना गरिएको सदस्य थापाले बताउनुभयो ।
वर्तमान समयमा पार्टीका कार्यकर्ताले पार्टीको रणनीतिअनुसार खेल्नुपर्ने भूमिका र वर्तमान संविधानको विषयमा फैलाइएका भ्रमलाई कार्यकर्तामार्फत गाउँगाउँमा गएर चिर्नका लागि उक्त प्रशिक्षण कार्यक्रम भइरहेको सचिवालय सदस्य थापाले बताउनुभयो ।
मुलुकको वर्तमान राजनीतिक अवस्था र पार्टीले खेल्नुपर्ने भूमिकाका वारेमा पार्टीका उपाध्यक्ष युबराज ज्ञावलीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको बताइएको छ । साथै स्थायी कमिटी सदस्य मुकुन्द न्यापाने र छविलाल विश्वकर्माले नयाँ संविधानका अन्तरवस्तुका वारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको सचिवालय सदस्य थापाले जानकारी दिनुभयो ।
प्रशिक्षण भेलामा धौलागिरि अञ्चलका बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङ जिल्लाका जिल्ला कमिटीका सदस्य,सल्लाहकार परिषद् र जनवर्गीय संगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरु समेत गरी झन्डै २०० भन्दा बढी पार्टी कार्यकर्ता प्रशिक्षण भेलामा सहभागि भएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्