म्याग्दीमा निर्वाचन विकास कोषको डेढ करोड बजेट बाँडफाँड
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस २२ गते ।
म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७२७३ का लागि प्राप्त भएको निर्वाचन विकास कोष कार्यक्रमको डेढ करोड रुपैया बजेट बाँडफाँड गरिएको छ ।
जिल्ला विकास समितिको कार्यालयमा व्यवस्थापीका संसदमा प्रतिनिधित्व गर्ने म्याग्दीका सांसदहरु र सम्बन्धित अधिकारीहरुको मंगलबार बसेको बैठकले १५ वटा योजनाहरुलाई एक करोड ५० लाख रुपैयाँ वितरण गरेको हो ।
निर्वाचित सांसद नवराज शर्माको अध्यक्षतामा बसेको बैठकमा पशु विकास राज्यमन्त्री नरदेवी पुन, सांसद रेशमबहादुर बानियाँ, स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, जिल्ला ईञ्जििनियर ओमबहादुर केसी, बेनी नगरपालीकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेल र जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल सहभागि हुनुहुन्थ्यो ।
निर्वाचन विकास कोषको बजेट वितरणका क्रममा जिल्ला परिषद्ले पारित गरेका गाविस जोड्ने सडक निर्माण योजनालाई प्राथमिकता दिएको सांसद शर्माले बताउनुभयो । जिविसका अनुसार बिम–मराङ–मल्कवाङ–पाखापानी, पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला र ताकम– मुना–लुलाङ सडक योजनालाई १५१५ लाख रुपैयाँ छुट्टाइएको छ ।
यसैगरी दाना स्थित ज्ञानप्रकाश उच्च माविमा छात्राबास भवन बनाउन, बेनीको क्याम्पसचोक हिलसाईडमा पहिरो रोकथाम तथा संरक्षण तथा चिमखोला, झिँ र कुईनेमंगलको घ्याँसीखर्कमा महिला सामुदायीक भवन बनाउन दशदश लाख रुपैयाँ वितरण गरिएको छ ।
ताराखेत–हिदी सडक योजनालाई छुट्टीएको १३ लाख रुपैयाँ ताराखेत–सल्यान खण्डमा २० र सल्यान–भर्जुला–हिदी खण्डमा ८० प्रतिशत वितरण गरिएको । गलेश्वर–मौवाफाँट, भगवती–पिप्ले–रिसीनचौतारी माझखर्क, रत्नेचौर–ज्यामरुककोट–भकीम्ली र औल–बैसरी सडकलाई सातसात लाख रुपैया छुट्टीएको छ ।
यसैगरी अर्मनको छिस्वाङ–टिकावाङ–सिर्कुम सडक योजनामा छुट्टीएको १३ लाख रुपैया छिस्वाङ–टिकावाङ खण्डलाई पचास प्रतिशत र सिर्कुम–टिकावाङ खण्डलाई पचास प्रतिशत वितरण भएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । बरङ्जा–किमचौर, बाङगेरा–भकुण्डे र दरवाङ– दिच्याम सडकलाई पनि सातसात लाख रुपैयाँ वितरण भएको छ ।
उपभोक्ता समिति मार्फत प्राबिधिक सर्वेक्षण गरेर योजना कार्यान्वयन गरिने स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्