बरङ्जाको सुन्तलाले चितवनमा बजार पायो
सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १८ गते । म्याग्दीको बरंजामा उत्पादन भएको सुन्तलाले चिनवनमा बजार पाउन थालेको छ ।
यसअघि स्थानीय डोके ब्यापारीलाई सुन्तला बेच्दै आएका कृषकहरु चितवनका ब्यापारी बगैचामै आउन थालेपछि उत्साहीत बनेका छन् । बेनीको मल्लाजी जुस पसल मार्फत बरंजा ४ दहमा उत्पादन भएको सुन्तला चितवनको नारायणघाटमा लगेर बिक्री हुन थालेको हो ।

ईन्धन अभाव र यातायात सेवाको असहजताको बावजुद पनि धमाधम सुन्तला निकासी भैरहेको स्थानीय कृषक कृष्णलाल सापकोटाले बताउनुभयो । उहाँले यस वर्ष ४० रुपैया प्रतिकिलोका दरले तिन हजार ६०० किलोग्राम सुन्तला बेचेर करिब डेढ लाख रुपैयाँ आम्दानी गर्नुभयो ।
अन्य ठाउँको भन्दा गुणस्तरीय, ठुला दाना र रसीलो स्वाद भएकाले बरंजाको सुन्तलाले राम्रो बजार पाएको हो । गत वर्ष बोटमै ४० रुपैया पारेपनि यसपाली टिपेर सोही मुल्यमा बेचेको कृषकहरुले बताएका छन् । दहमा सात घर कृषकले ब्यवसायीक सुन्तला खेती गरेका छन् ।
कृष्णलाल सापकोटा, शर्मीला थापा, नरीलाल बिक, नारायणदत्त सापकोटा, श्रीप्रसाद सापकोटा, नन्दलाल कडेल र मोहनलाल सापकोटाले ब्यवसायीक सुन्तला खेती गर्नुभएको छ । उहाँहरुले ५० देखि दुई सय बोटसम्म सुन्तला लगाउनुभएको छ । एउटा बगैचाबाट वर्षमा ५० हजार देखि डेढ लाख सम्मको सुन्तला बिक्री हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्